पेरिस हमला: 'आक्रमणकारीहरुको खोजी तीव्र’

  • 8 जनवरी 2015
तस्वीर कपीराइट BBC World Service
Image caption मुकुण्डो लगाएका बन्दुकधारीहरुले आक्रमण गरी भागेको अधिकारीहरुले बताएका छन्

फ्रान्सको राजधानी पेरिसस्थित एउटा व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा हमला गर्ने तीनजना बन्दुकधारीहरुको खोजीका निम्ति ठूलो कारवाही जारी रहेको प्रहरीले जनाएको छ।

उक्त पत्रिकाको कार्यालयमा जबरजस्ती प्रवेश गरी बन्दुधकारीहरुले आक्रमण गर्दा ८ जना पत्रकारसहित १२ जनाको ज्यान गएको छ।

ठूलो स्तरमा आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।

विशेष कमाण्डोहरुले पेरिसदेखि १ सय ४० किलोमिटर टाढा पर्ने रिम्स शहरमा आक्रमणकारीहरुको खोजी गरिरहेका छन्।

कायरतापूर्ण

फ्रान्समा केही दशकयताकै ठूलो भनिएको उक्त आक्रमणको विरोधमा देशभर प्रदर्शनहरु भईरहेका छन्।

आक्रमणमा मारिनेहरुमा चार्ली हेब्डोका संपादकसहित ८ जना पत्रकार र दुईजना प्रहरी पनि छन्।

राष्ट्रपति फ्रांस्वा ओलान्दले आक्रमणलाई कायरतापूर्ण हत्याको संज्ञा दिदै बिहिबार राष्ट्रिय शोक मनाईने घोषणा गरेका छन्।

उनले स्वतन्त्र रुपमा बोल्न पाउने फ्रान्सेली मान्यतामाथि आक्रमण गरिएको भन्दै त्यसविरुद्ध एकजुट हुन सबै फ्रान्सेलीहरुलाई आह्वान समेत गरे।

उनले भने, “फ्रान्स आज स्तब्ध भएको छ, यो आतंकवादीहरुद्वारा गरिएको आक्रमण हो।”

तस्वीर कपीराइट EPA
Image caption शोकमा फ्रान्सेली संसदमा झण्डाहरु आधा झुकाईएका छन्

आक्रमणपछि फ्रान्सभरि सुरक्षा व्यवस्था कडा पारिएको छ भने पेरिसमा उच्च सुरक्षा सतर्कता अपनाईएको अधिकारीहरुले बताएका छन्।

विवाद

समाचारहरुमा जनाईएअनुसार संदिग्ध तीनजना आक्रमणकारीहरुमध्ये सन् २००८ मा तीन वर्षका लागि जेल सजाय सुनाईएका एकजना लडाकू पनि रहेका छन्।

इराकमा जिहादीहरु पठाउने एउटा समूहमा संलग्न रहेको आरोपमा उनलाई जेल सजाय सुनाईएको थियो।

साप्ताहिक रुपमा प्रकाशित हुने उक्त पत्रिकाले समाचार तथा समसामयिक विषयमाथि गरेका व्यंग्यात्मक प्रस्तुतिलाई लिएर विगतमा विभिन्न विवादहरु भएका थिए।

आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला भन्दै विश्वभरका नेताहरुले निन्दा गरेका छन्।

अमेरिकी राष्ट्रपति बराक ओबामा र ब्रिटिस महारानी एलिजावेथ लगायतले आक्रमणमा मारिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

अमेरिकी विदेशमन्त्रीले सबै अमेरिकीहरु फ्रान्सेली जनतासंगै रहेको बताए।

संयुक्त राष्ट्रसंघका महासचिव बानकी मूनले आक्रमणलाई बर्बर र कायरतापूर्ण आतंकवादी कार्यको संज्ञा दिएका छन्।

अरब लिग र इजिप्टको प्रमुख इस्लामिक निकाय अल अज्हरले आक्रमणलाई आतंकवादी कार्य भनेका छन्।