माग पुरा नभए फेरि आन्दोलन हुन्छ: डा. केसी

  • 11 जनवरी 2015
Image caption जथाभावी सम्बन्धन नदिन माग गर्दै डाक्टर गोविन्द केसी यसअघि चार पटक आमरण अनसन बसिसकेका छन्।

स्वास्थ्य क्षेत्रमा देखिएका विकृति हटाउनका लागि भन्दै पटकपटक अनसन बसेका वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले सरकारले आफूसंग गरेका प्रतिवद्धता एक वर्ष हुनै लाग्दा पनि पुरा नगरेको भन्दै फेरि आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

आइतबार पत्रकार सम्मेलन गर्दै उनले विगतको सहमति अनुसार चिकित्सा शिक्षाको राष्ट्रिय नीति तय नगरी थप मेडिकल कलेजहरुलाई सम्बन्धन दिइएको भन्दै त्यसलाई नरोके जुनसुकै बेला, उनकै शब्दमा, भद्र अवज्ञा हुने बताएका हुन्।

तर मेडिकल सम्बन्धन लिन लागेका कलेजहरुले भने आफुहरुले पहिल्यै आशयपत्र पाइसकेकोले अब सम्बन्धन नदिए अरबौं लगानी डुब्ने बताउँदै आएका छन्।

सरकारले आफ्ना माग पुरा गर्ने प्रतिवद्धता जनाएको करीब एक वर्ष भइसक्दा समेत कार्यान्वयन नभएको भन्दै डाक्टर गोविन्द केसीले तीव्र असन्तुष्टि जनाए।

असन्तुष्टि

गत माघ अन्तिम साता आफुले अनसन तोड्दा व्यक्त सरकारी प्रतिवद्धता विपरित नयां मेडिकल कलेजलाई सम्बन्धन दिइएको, चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्त बनाउनुको सट्टा त्यहां अध्यापन भइरहेका कतिपय स्नातक तहका पाठ्यक्रम कीर्तिपुर सार्न खोजिएको भन्दै उनले पुन: आन्दोलनको चेतावनी दिएका हुन्।

पत्रकार सम्मेलनमा डाक्टर केसीले भने, "भ्रष्ट पदाधिकारी र नेताहरुले पहिलाको समस्या समाधान नगरी थप चुनौतिहरु भित्र्याइरहेका छन्। सरकारले पुराना प्रतिवद्धता पुरा गरेर नयाँ चुनौतिसम्बन्धी निर्णय बदर नगरे हामी फेरि आन्दोलनमा जान वाध्य हुनेछौं।"

उनको अनसनपछि सरकारले गरेको लिखित सहमतिमा चिकित्सा शिक्षाको राष्ट्रिय नीति नबनाइ थप निजी कलेजलाई सम्बन्धन नदिइने, सरकारी मेडिकल कलेजलाई ग्रामीण क्षेत्रमा विस्तार गर्नेलगायतका विषय उल्लेख थियो।

तर त्यस्ता सहमतिको विपरित, धेरै महंगो शुल्क तिर्नसक्ने सानो जनसंख्याका लागि, उनकै शब्दमा, अनावश्यक निजी मेडिकल कलेज खोल्दा स्वास्थ्य उपचारलाई निकै महंगो र आम मानिसको पहुँचभन्दा बाहिर पु-याउने उनले बताए।

सुझाव

उनले भने, "हाम्रो देशमा जम्मा १८ वटा मेडिकल कलेजमध्ये १५ वटा निजी छन् जहाँ पूर्वाधारहरुको कमी छ, त्यहाँ उत्पादन हुने चिकित्सकहरुको गुणस्तर कम र धेरै लगानी गरेको हुनाले त्यसले स्वास्थ्य उपचारलाई निकै महंगो बनाइरहेको छ। "

डाक्टर केसीको विगतको आन्दोलनपछि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनलाई वरिष्ठताको आधारमा नियुक्ति गर्ने लगायत स्वास्थ्य क्षेत्रमा भएका अनियमितता र सुधारका विषयमा अध्ययन गर्न कार्यदलहरू बनेका थिए।

तीमध्येको एउटा कार्यदलले राजधानी उपत्यकाले थप मेडिकल कलेज धान्न नसक्ने भन्दै त्यस्ता शिक्षण संस्थालाई काठमाण्डूबाहिर गाम्रीण क्षेत्रमा लैजानुपर्न लगायतका सुझावहरु दिएको थियो।