फ्रान्समा सुरक्षा व्यवस्था कडा

  • 12 जनवरी 2015
तस्वीर कपीराइट Getty

फ्रान्सले, तीनसम्म चलेका आतंककारी हमलापछि देशको सुरक्षाका लागि हजारौं सेना परिचालन गरिने जनाएको छ।

फ्रान्सका रक्षामन्त्री जं इभ ल द्रियां ले भोलीबाट, उनकै शब्दमा, संवेदनशील क्षेत्रहरुमा सुरक्षास्थिती बलियो तुल्याउन दशहजार सैनिक परिचालन गरिने बताएका छन्।

त्यसका साथै पांच हजार सुरक्षा सैन्यले फ्रान्सको सातसयवटा यहुदी विद्यालयहरुमा सुरक्षा प्रदान गर्ने गर्नेछन्।

फ्रान्समा, हालसम्मकै सबैभन्दा ठूलो जुलुस प्रदर्शन भएको एकदिन पछि सुरक्षा व्यवस्था अझ कडा तुल्याइएको छ।

अपेक्षा

तस्वीर कपीराइट AFP

हजारौं सेना र सशस्त्र प्रहरीहरुको सडकमा देखिने उपस्थितीले जनतालाई सुरक्षाका सम्बन्धमा आश्वस्त तुल्याउने र गत हप्ता भएका जस्ता हमलाहरुलाई निरुत्साहित तुल्याउने अपेक्षा गरिएको छ।

सैनिकहरुले यातायातका केन्द्रहरु र पर्यटकीय स्थलहरुमा सुरक्षा दिने छन् भने प्रहरीले यहुदीहरुको प्रार्थनास्थलहरु लगायत अन्य सम्वेदनशील स्थानहरुलाई थप सुरक्षित पार्नेछन्।

गत हप्ताको हमलाहरुमा संलग्न तीनजना बन्दूकधारीहरुका संभावित सहयोगीहरुको खोजी जारी रहंदा सरकारले ति घटनाहरुबाट प्राप्त शिक्षाहरुमा ध्यान केन्द्रीत गर्न खोज्दैछ।

एउटा अन्तरदलिय संसदीय आयोगले ति घटनाहरुमा गुप्तचर वा सुरक्षा निकायका तर्फबाट केहि त्रुटिहरु भएका थिए की भनी अनुसन्धान गर्नेछ।

प्रधानमन्त्री मानुएल भाल्सले सरकारले फ्रान्सेली जेलभित्र सुधार गर्नमा पनि ध्यान दिने घोषणा गरेका छन्, जहां थुप्रै बन्दीहरु चरमपन्थीहरुको प्रभावमा पर्ने गरेका छन्।