भारतमा विषालु मदिराले कम्तीमा २९ को मृत्यू

  • 13 जनवरी 2015

भारतको उत्तर प्रदेश राज्यमा गैरकानूनी रुपमा उत्पादित विषालु मदिरा पिउँदा कम्तीमा २९ जनाको ज्यान गएको प्रहरीले बताएको छ।

अन्य एकसयजना भन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ र ती मध्ये केहिको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

विषालु मदिरा पीउनेहरु मध्ये धेरैले त्यसबेला राज्यको राजधानी लखनउको बाहिरी भेगमा अवस्थित एउटा गाउँमा क्रिकेट प्रतियोगीता हेरिरहेका थिए।

त्यस्तो मदिरा पिएपछि लखनउ र उन्नाउ जिल्लाका विभिन्न गाउँका बासिन्दाहरु विरामी परेका थिए।

उपचार

एकसय जना भन्दा बढीको अस्पतालमा उपचार भइरहंदा मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

प्रेस ट्रष्ट अफ इन्डिया समाचार एजेन्सीका अनुसार १ सय २३ जनालाई कम्तीमा दुईवटा अस्पतालमा भर्ना गरी उपचार गरिंदैछ।

तस्वीर कपीराइट
Image caption भारतमा यसअघि पनि विषालु मदिराको सेवनबाट मानिसको ज्यान गएका खबरहरु आउने गरेको थियो।

लखनउका चिकित्सकहरुले केहिको अवस्था गम्भीर रहेकोले तिनीहरुलाई कृत्रिम श्वासप्रश्वास यन्त्र भेन्टीलेटरमा राखि उपचार भइरहेको बताएका छन् भने केहिको आँखाको ज्योती गुमेको छ।

सस्तो र खतरनाक मदिरा उत्पादन र विक्री गर्ने एउटा पसलमा छापा मारेर प्रहरीले मदिरा र रसायनहरु कब्जामा लिएको छ। र पसलेलाई पनि पक्राउ गरिएको छ।

एएफपी समाचार एजेन्सीसंग कुरा गर्दै सरकारका प्रवक्ता राजेन्द्र चौधरीले जनाए अनुसार लापरवाही देखाएको आरोपमा स्थानीय विभागका एकदर्जन जति अधिकारीहरुलाई निलम्बन गरिएको छ।

विगतमा भारतमा विषालु मदिरा सेवन गरेर मानिसहरुको मृत्यु भएका विभिन्न घटनाहरु भएका छन्।

सन् २०११ मा पश्चिम वंगाल राज्यमा विषालु मदिरा सेवन गरेका कारण झण्डै एकसय सत्तरी जना मारिएका थिए।