'भ्रष्टाचारमा मन्त्रीहरु मुछिए कारवाही हुने'

  • 13 जनवरी 2015
Image caption नवगठित मन्त्रिमण्डलमा राजनीतिक रुपले विविधतापूर्ण रहेको बताईएको छ

नयाँ मन्त्रीमण्डलको घोषणा गर्दै श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति माइत्रिपाला सिरिसेनाले भ्रष्टाचारमा संलग्न भएको पाईए मन्त्रीहरुलाई पनि नछाडिने चेतावनी दिएका छन्।

राष्ट्रपति निर्वाचित भएको चार दिनपछि सिरिसेनाले मन्त्रिमण्डल गठन गरेका हुन्।

मन्त्रिपरिषद्को आकार घटाउँदै सिरिसेनाले २७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्।

यसअघि श्रीलंकाको मन्त्रीमण्डल विश्वकै ठूलोमध्येको एक थियो, जसमा करिब ७० जना सदस्यहरु थिए।

आश्चर्य

नयाँ मन्त्रिमण्डल सय दिनका लागि हुनेछ।

एक सय दिनपछि संसद विघटन भई संसदीय निर्वाचन हुनेछ।

गत साता सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई पराजित गर्दै सिरिसेना विजयी भएका थिए।

सत्तामा आएको अनपेक्षित परिवर्तनप्रति श्रीलंकामा अझै आश्चर्य व्यक्त गरिंदैछ।

राजापाक्षकै सरकारमा स्वास्थ्यमन्त्री रहेका सिरिसेनाले गत नोभेम्बरमा सरकार छाडी उम्मेद्वारीको घोषणा गरेर सबैलाई आश्चर्यमा पारेका थिए।

तस्वीर कपीराइट PMD
Image caption पूर्वराष्ट्रपति महिन्दा राजापाक्ष प्रधानमन्त्री पदका लागि उठ्न सक्ने अनुमान गरिएको छ

राजापाक्षका आलोचकहरु उनी विस्तारै निरंकुश हुँदै गएको आरोप लगाउँछन्।

कार्यशैली

सिरिसेनाले सरकारको कार्यशैली परिवर्तन गर्ने जस्तो देखिन्छ।

आईतबार आफ्नो संबोधनमा उनले शासन गर्नका निम्ति श्रीलंकालाई राजा नभई एक विनम्र मानिस आवश्यक भएको बताए।

उनले विभिन्न जातजाति र समुदायबीच सद्भाव हुनुपर्नेमा समेत जोड दिए।

नयाँ मन्त्रिमण्डल घोषणा गरेका सिरिसेनाले भ्रष्ट भएको पाईए सजायबाट कोही पनि नबच्ने चेतावनी दिए।

राजनीतिक रुपमा विविधता देखिएको नयाँ मन्त्रीमण्डलमा अल्पसंख्यक तमिल र मुस्लिम समुदायबाट पनि समेटिएका छन्।

सबैभन्दा ठूलो तमिल पार्टी टीएनएले मन्त्रिमण्डलमा सहभागी हुन अस्वीकार गरेपनि सरकार बाहिरै रही समर्थन गरेको छ।