दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शुरु

  • 15 जनवरी 2015
माायदेवी मन्दिर तस्वीर कपीराइट UNESCO
Image caption दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लु्म्बिनीमा पर्यटकहरको संख्या बढ्ने अपेक्षा गरिएको छ

लामो समयको प्रतीक्षा र चर्चावीच बिहीबारदेखि भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य औपचारिक रुपमै शुरु गरिएको छ।

करीब तीन वर्ष भित्रै निर्माणको काम सक्ने लक्ष्य लिइएको सो विमानस्थल काठमाण्डौको त्रिभुवन विमानस्थल पछिको दोस्रो अन्तराष्ट्रिय विमानस्थल हुने छ, जहाँबाट बोईगं तथा एयरवसका जहाजहरु उडान तथा अवतरण गर्नसक्ने छन्।

हाल भैरहवामा संचालनमा रहेको विमानस्थलाई नै स्तरोन्नति गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन शुरु गरिएको हो, जसको शिलान्यास बिहीबार एक समारोहका बीच प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए।

उनले त्यसक्रममा भने "यो एउटा उदाहरण बनाउ हामीले यस्तो एयरपोर्ट यसरी बनाएका थियौं।"

अनुमान

विमानस्थल निर्माणका लागि करीब ९ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ।

त्यसकालागि सरकारले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत एसियाली विकास बैंकबाट ऋण लिएको थियो।

विमानस्थल निर्माण परियोजना प्रमुख मुरारी भण्डारीका अनुसार अबको तीन वर्ष भित्रै निर्माणको काम सक्ने लक्ष्य लिइएको छ।

उनले भने, "शुरुमा रनवेबाटै सशुरु हुन्छ, त्यसपछि टर्मिनल र कन्ट्रोल टावर गरी सबैतिरको वातावरण अनुसार काम अघि बढ्छ।"

विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनले पाएको छ।

लागत

परियोजना प्रमुख भण्डारीका अनुसार यो विमानस्थलको निर्माण लागत अन्य विमानस्थलको तुलनामा निकै सस्तो पनि हो।

यो विमानस्थललाई वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरुमा जाने यात्रुको लागि छुट्याइने योजना समेत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिश चन्द्रलाल सुमनले बीबीसीलाई वताए।

उनले भने, "२५ प्रतिशतजति सहुलियत दिने कुरा भएको छ यो एयरपोर्टलाई, जसले गर्दा बजेट एयरहरु यहाँ सिफ्ट हुन्छन् र रेमिटेन्स यात्रुहरुलाई यो एयरपोर्ट सुविधाजनक हुनेछ।"

योजना अनुसार प्रथम चरणमा ३ हजार मिटरको रन–वे का अतिरिक्त अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकीय भवन, सुरक्षा पोस्ट , नदी डाइभर्सनलगायतका भौतिक पूर्वाधार निर्माणका काम गरिने छन्।