‘भूकम्प उद्धार दस्ता छ महिनाभित्र’

  • 16 जनवरी 2015
तस्वीर कपीराइट BBC World Service
Image caption भूकम्प प्रतिरोधक घर बनाउने जागरुकता कम रहेकोले जोखिम नघटेको विज्ञहरुको भनाई छ

सरकारले भूकम्पको उच्च जोखिममा रहेको नेपालमा सेना, प्रहरी र सशस्त्र प्रहरीभित्र प्रकोप सम्बन्धी काम गर्नेहरुको छुट्टै दस्ता आगामी ६ महिनाभित्र बनाउने तयारी गरेको छ।

ठूलो भूकम्प आएमा घरहरु भत्केर बनेका भग्नावशेष व्यवस्थापन गर्ने विषयको रणनीति पनि चाँडै जारी गरिने गृह मन्त्रालयका अधिकारीले बताए।

विक्रम सम्वत १९९० र २०४५ सालमा गएका भूकम्पहरु नै आधुनिककालमा नेपालका ठूला भूकम्पहरुमध्ये पर्छन्।

क्षतिग्रस्त

यदि ८ वा सोभन्दा बढी रेक्टर स्केलको भूकम्प आएमा काठमाण्डू उपत्यकामा मात्रै ६० देखि ८० प्रतिशत घरहरु ध्वस्त वा नराम्रोसँग क्षतिग्रस्त हुने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको अनुमान छ।

यस्ता ठूला भूकम्पहरुमा उद्धारको काम गर्न छिमेकी मुलुकहरु भारत र चीनमा छुट्टै दस्ता भए पनि नेपालमा त्यस्तो नहुँदा विपद्का बेला सुरक्षा निकायहरु, खास गरी सेना र प्रहरीले उद्धारको काम गर्दै आएका छन्।

तर अब प्रकोपको लागि मात्रै खटिने छुट्टै दस्ता बनाउने तयारी भईरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका उप-सचिव प्रदीप कोइरालाले बताए।

उनले भने, “मन्त्रिपरिषद्ले खोज-उद्धार रणनीतिक कार्ययोजना स्वीकृत गरिसक्यो, नेपाली सेना र सशस्त्र प्रहरीमा मध्यम प्रकृतिको र नेपाल प्रहरीमा सातवटा सामान्य प्रकृतिको दस्ता बनाउने भनेर निर्णय भयो, अब त्यसको प्रक्रियागत काम हुँदैछ, पाँच ६ महिनभित्रमा प्रकोपमा मात्रै काम गर्ने तालिम प्राप्त शक्ति तयार हुन्छ।”

रणनीति

ठूला खाले भूकम्पमा परेर घरहरु भत्किएर बनेका भग्नावशेष हटाउनु निकै ठूलो चुनौती हुने गरेको अन्तर्राष्ट्रिय अनुभव छ।

ठूला भूकम्पबाट काठमाण्डू उपत्यकामा मात्रै साढे पाँच देखि साढे ६ करोड टन भग्नावशेष उत्पादन हुने अनुमान गरिएको छ।

यसको व्यवस्थापनकाबारे पनि गृहकार्य भईरहेको कोइरालाले बताए, “स्थानीय विकास मन्त्रालयले कसले सफा गर्ने, कसरी सफा गर्ने र कहाँ राख्ने भनेर एउटा रणनीति चाँडै जारी गर्छ।”

प्रकोपको अवस्थामा खोज तथा उद्धार टोली तयारी अवस्थामा रहेको, राहत वितरणको लागि संघ संस्थाहरुसँग समन्वय जारी रहेको र आपतकालीन अवस्थामा खाद्य तथा गैर खाद्य वस्तु भण्डारणका लागि काम भईइरहेको कोइरालाले बताए।

पाँचै विकाश क्षेत्रमा आपतकालीन सामाग्रीका लागि भण्डार गृह बनाउने तयारी अनुसार पुर्वाञ्चलको सुनसरी र मध्यमाञ्चलको हेटौडामा तयार भईसकेको र अन्य ठाउँमा निर्माणाधीन रहेको उनले बताए।

यद्यपि भूकम्पपछिको उद्धारमा भन्दा यसबाट बच्नलाई पूर्वतयारी गर्नु नै उत्तम रहेको विज्ञहरुको भनाई छ।