‘बोको हरामद्वारा क्यामरुनका कयौं अपहरित’

  • 19 जनवरी 2015
तस्वीर कपीराइट EPA
Image caption अधिकारीहरुका अनुसार लडाकुहरुले दर्जनौं घरहरुमा आगजनी समेत गरेका थिए

नाइजेरियामा सक्रिय रहेको बोको हराम समूहका संदिग्ध लडाकुहरुले छिमेकी मुलुक क्यामरुन प्रवेश गरी कयौं मानिसहरुको अपहरण गरेको त्यहाँका अधिकारीहरुले बताएका छन्।

उत्तरी क्यामरुनको एउटा गाउँमा आक्रमण गरी लडाकुहरुले सर्वसाधारणको अपहरण गरेका हुन्।

नाइजेरियामा निकै शक्रिय बोको हरामले सीमापारि क्यामरुनमा पनि आक्रमण तीव्र पारेको बताईएको छ।

शनिबार रातिदेखि संदिग्ध लडाकुहरुले मोकोलो जिल्लाको माबा गाउँमा आक्रमण शुरु गरेका थिए।

अधिकांश

सुरक्षा स्रोतहरुका अनुसार अपहरणमा पर्नेहरुमा महिला, पुरुष र बालबालिका पनि छन्।

२० वटाभन्दा बढी घरहरुमा आगजनी गरेका लडाकुहरुले कति जनाको अपहरण गरेको वा कति जनाको हत्या गरेको भन्ने स्पष्ट हुन सकेको छैन्।

क्यामरुनका सूचनामन्त्रीले भने ३० देखि ५० जना मानिसहरु अपहरणमा परेको हुन सक्ने बताएपनि वास्विक संख्या अहिले भन्न नसकिने जनाए।

एकजना प्रहरी अधिकारीले समाचार संस्था एएफपीलाई बताए अनुसार करिब ६० जना अपहरणमा परेको हुन सक्छ र उनीहरुमध्ये अधिकांश महिला तथा बालबालिका छन्।

तस्वीर कपीराइट AFP
Image caption बोको हरामले आफ्नो क्षेत्र विस्तार गर्दै लगेको बताईन्छ

पछिल्ला वर्षहरुमा बोको हरामका लगभग सबै आक्रमणहरु नाइजेरियामै हुने गर्दथे।

चिन्ता

तर अहिले क्यामरुनका गाउँ, शहर र ब्यारेकहरुमा पनि आक्रमण हुन थालेका छन्।

बीबीसीका एकजना संवाददाता भन्छन्, सीमापारि गाउँबाट मानिसहरुलाई लडाकुहरुले अपहरण गरेको यो पहिलो पटक हुनुपर्छ।

जिहादीहरुसंग लड्नका निम्ति नाइजेरियाको अर्को छिमेकी मुलुक चादले हालै क्यामरुनमा आफ्ना सैनिकहरु पठाएको थियो।

गत सप्ताहन्तमा उत्तरी नाइजेरियामा गराईएका बम विष्फोटहरुमा बोको हरामको हात रहेको विश्वास गरिएको छ।

बोको हरामले आफ्नो क्षेत्र विस्तार गर्दै गएपछि उक्त क्षेत्रमा चिन्ता बढ्दै गएको बताईन्छ।