यूरोपमा "राजनीतिक भूकम्प" को जोखिम

  • 20 जनवरी 2015
तस्वीर कपीराइट AP

सन् २०१५ मा युरोपका देशहरुमा राजनीतिक भूकम्प आउन सक्ने एउटा अनुसन्धानले देखाएको छ।

बीबीसीको विशेष कार्यक्रम दिवस डीमोक्रेसी डे अर्थात प्रजातन्त्र दिवसका लागि इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले, इआइयु, त्यस्तो अनुसन्धान गरेको थियो।

सो अनुसन्धान अनुसार लोकप्रीयतावादी राजनीतिक पार्टीहरुप्रतिको आकर्षण बढ्दो रुपमा देखिन थालेको छ।

र त्यसको परिणाम स्वरुप ति मध्ये केहिले निर्वाचनमा जीत हासिल पार्न सक्छन् भने मूलधारका भनिने दलहरुले पहिले कहिल्यै नसोचेका गठबन्धनहरु बनाउनु पर्ने हुन सक्छ।

खाडल

इआइयुका अनुसार युरोपको “प्रजातन्त्रको संकट” सम्भ्रान्तहरु र मतदाताहरुबीचको खाडल नै हो।

तस्वीर कपीराइट BBC World Service

निर्वाचनमा मतदाताहरुको न्यून उपस्थिती र परम्परागत राजनीतिक पार्टीहरुको सदस्यतामा देखिएको तिब्र गिरावट नै त्यस्तो लक्षणको प्रमुख तत्वहरु हुन्।

आगामी मे महिनामा आमनिर्वारचन हुन लागेको संयुक्त अधिराज्य, द इकोनोमिष्टका अनुसन्धानकर्ताहरु भन्छन्, “एउटा सम्भावित लामो राजनीतिक अस्थिरताको अवधिमा” प्रवेश गर्न लागेको छ।

तिनीहरुका अनुसार आगामी निर्वाचनबाट एउटा अस्थीर सरकार निर्माण हुने सम्भावना सामान्यभन्दा बढी नै देखिएको छ।

र लोकप्रीयतावादी यूके इन्डीपेन्डेन्स पार्टी (यूकिप) ले कन्जरभेटिभ र लेबर दुवै थरीको मत आफू तिर तान्ने अनुमान गरिएको छ।

चुनौती

तर सबभन्दा तात्कालीक राजनीतिक चुनौती ग्रीसमा देखिंदैछ। गत डिसेम्बरमा त्यहांको संसदले नयां राष्ट्रपति चुन्न नसकेपछि, जेनुअरी २५ मा पुन: आम निर्वाचन हुंदैछ।

वैचारिक मत सर्वेक्षणहरुका अनुसार त्यहां एक लोकप्रीयतावादी पार्टी सिरिजा एउटा बलियो पार्टीको रुपमा उदाउन सक्दछ।

यदि त्यसो भयो र ग्रीसका उक्त पार्टीको सरकार बन्यो भने त्यसबाट युरापेली संघ भरी नै तरंग ल्याइदिनेछ र त्यो अन्यत्र पनि राजनीतिक उथलपुथलको कारक बन्न सक्छ।

इआइयुले अप्रत्याशित चुनावी नतिजा आउन सक्ने अनुमान गरी उदाहरणका रुपमा प्रस्तुत गरेका देशहरुमा डेनमार्क, फिनल्याण्ड, स्पेन, फ्रान्स, स्वीडेन, जर्मनी र आएरल्याण्ड पनि पर्दछन्।

उक्त अनुसन्धानकर्ता संस्था भन्छ, “लोकप्रीयतावादी पार्टीहरुको उदय साझा लक्षणमा देखिएका ति देशहरुमा जस्तै, एकल युरोपेली मुद्रा युरो प्रचलनमा रहेको समग्र क्षेत्र र व्यापक युरोपेली संघमा पनि, राजनीतिक संस्थापन विरोधी भावनाहरु चर्को रुपमा बढेका छन्।

"जुन कारणले गर्दा त्यहां राजनीतिक अस्तव्यस्तता र सम्भावित संकटको जोखिम उच्च छ।“

तस्वीर कपीराइट BBC World Service

इआइयुको विश्लेषण अनुसार- राजनीतिको वाम, दक्षिण र अनिर्णीत धारका लोकप्रीयतावादी पार्टीहरु र आन्दोलनहरुले, पूराना राजनीतिक पार्टीहरु र तिनका परम्परागत सामाजीक आधार क्षेत्रहरुमा देखिन थालेका खाडलहरुमा प्रवेश गर्न थालेका छन्।

विरोध

ब्रसल्सबाट हुने शासन, आप्रवासीका मुद्दा र मितव्ययिताका विषयको विरोध नै यि नयां लोकप्रीयतावादी पार्टीहरुको मुख्य एजेण्डा र नारा बन्न पुगेका छन्। ‌

यि सबै विकासक्रमहरुले खडा गरेको प्रश्न हो- के तिनले वास्तव मै प्रजातन्त्रप्रति खतरा उत्पन्न गराएका छन् की यो प्रजातन्त्र सजीव र सबल छ भन्ने प्रमाण हो।

तर हालका लागि “पूराना” भनिएका प्रजातन्त्रहरुको अनुमान गर्न नसकिने भविष्यलाई विश्वका सबै राजनीतिक रंग र रुपका सरकार तथा अभियानकर्ताहरुले नजीकबाट नियाल्ने क्रम भने जारी नै रहनेछ।