फ्रान्समा नयाँ सुरक्षा व्यवस्था घोषणा

  • 21 जनवरी 2015
तस्वीर कपीराइट AFP Getty
Image caption आक्रमणमा २० जना मारिएको दुई सातापछि प्रधानमन्त्री भाल्सले नयाँसुरक्षा व्यवस्थाको घोषणा गरेका हुन्।

फ्रान्सका प्रधानमन्त्री मानुएल भाल्सले दुई हप्ता अघि तीनजना हमलाकारीसहित २० जनाको ज्यान जाने गरी राजधानी प्यारिसमा भएका आक्रमणका घटनाहरु पछि विभिन्न नयां सुरक्षा व्यवस्थाहरु घोषणा गरेका छन्।

प्रधानमन्त्री भाल्सले थप साढे दुई हजार सुरक्षा कर्मचारी भर्ना गरिने बताउंदै जिहादीहरुसंग सम्बन्ध रहेको आशंका गरिएका १३ सयभन्दा बढी मानिसहरुलाई फ्रान्सले निगरानीमा राख्‍नु पर्ने बताए।  

फ्रान्सको गुप्तचर सूचना संकलन गर्ने प्रणालीको असफलता प्यारिस आक्रमणहरुका सिलसिलामा नराम्रोसंग उजागर हुन पुगेको थियो।

बुधबार सरकारले त्यसप्रति प्रतिक्रिया जनाएको छ।

नयाँ कानुन

अब सुरक्षा सैन्यका साथै कानून, प्रतिरक्षा र वित्त मन्त्रालयहरुमा दुई हजार ६ सय ८० वटा नयां पदहरु सिर्जना गरिनेछ।

प्यारिसमा रहेका बीबीसी संवाददाता ह्यु स्कोफिल्डले भने, "गुप्तचर निगरानी कार्यका लागि थप जनशक्तिको नियुक्ति सहायक सिद्ध हुनसक्छ। तर उच्च प्राथमिकता भने विश्लेषकहरुमाथि दिनु पर्छ, त्यस्ता मानिसहरु प्रति जसले बटुलिएका असंख्य विद्युतीय गुप्तचर सूचनाहरुको विश्लेषण गरी सही निष्कर्ष निकाल्न सकुन्।"

नयां उपकरणहरुका लागि झण्डै आधा अर्ब डलर बराबरको रकम उपलब्ध गराइने छ, र त्यसका लागि राष्ट्रिय बजेटमा अन्यत्रबाट रकम कटौती गरिनेछ।

गोप्य रुपमा टेलिफोन वार्ताहरु सुन्ने सम्बन्धमा फ्रान्समा हाल विद्यमान कानुनहरु इन्टरनेटको समयभन्दा अघि निर्माण भएका हुनाले विद्युतीय गुप्तचरी कार्यलाई समेत समेट्ने गरी नयां कानुन ल्याइने भएको छ।

आतंकवादी क्रियाकलापमा दोषी ठहर भएका र संदिग्धहरुको पनि पहिलोपल्ट एउटा राष्ट्रिय सूची तयार पारिने बताइएको छ।

आशंका

फ्रान्सका प्रधानमन्त्रीले सिरिया र इराकमा लड्न जाने मानिसहरुको तर्फबाट उत्पन्न खतराका बारेमा पनि जोड दिएका छन्।

उनले भने, अधिकारीहरुले निगरानीमा राख्‍नु पर्नेमा फ्रान्समा बसिरहेका त्यस्ता झण्डै १३ सय जना मानिसहरु छन् जसको सिरिया र इराकमा सकृय नेटवर्कहरुसंग सम्बन्ध रहेको आशंका गरिएको छ।

त्यस्तो सम्बन्ध भएका मानिसहरुको संख्यामा १३० प्रतिशतले वृद्धि भएको पनि बताइएको छ।

फ्रान्सले देशव्यापी रुपमा सार्वजनिक स्थल, विद्यालय, यहुदी प्रार्थनास्थल र मस्जीद जस्ता सम्वेदनशील स्थानहरुको सुरक्षाका लागि दश हजारभन्दा बढी सैनिकहरु परिचालन गरेको छ।