'अवरोध जारी रहे संविधान जारी हुँदैन'

  • 23 जनवरी 2015
तस्वीर कपीराइट bbc
Image caption संविधानसभाले काम गर्न नसकेपछि संविधान निर्माणको काममा अन्योल बढेको छ

आखिर दलहरुले आफैले घोषणा गरेको संविधान जारी गर्ने माघ ८ गतेको समयसीमा मुख्य दलहरुले बिहिबार मध्यरातसम्म पनि आ-आफ्ना अडानबाट टसमस नगरेरै गुजारेका छन्।

विपक्षी दलहरुको अवरोधका कारण बिहिबार राति स्थगित गरी संविधानसभाको बैठक शुक्रबार दिउँसो फेरि बोलाईएको छ।

संविधानसभाका अध्यक्षले अवरोधको संस्कृति स्थापित हुँदै गएको भन्दै त्यसो भईरहे संविधानसभाबाट संविधान जारी गर्न नसकिने चेतावनी दिएका छन्।

सत्ताधारी दलका नेताहरुका अनुसार विपक्षी मोर्चाको एउटा घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट गरिएको सहमतिको मध्यमार्गी प्रस्तावमा सत्तापक्ष सकारात्मक थियो।

विफल

तर उक्त प्रस्तावमा विपक्षी मोर्चाका अन्य दल नै सहमत हुन नसकेपछि बिहिबार अबेर रातिसम्मको प्रयास विफल भएको थियो।

नेकपा एमालेका नेता माधवकुमार नेपालले भने, “विजय गच्छदारजी धेरै लचिलो भएर प्रस्तुत हुनुभएको थियो, उहाँको प्रस्तावलाई स्वीकार गरेको भए हुन्थ्यो।”

तर विपक्षीको बुझाई उल्टो छ।

उनीहरुका भनाईमा सत्तारुढ घटकको दुई तिहाइ बहुमतको घमण्डले सहमतिको सम्भावना तुहिएको हो।

बैठक स्थगित भएपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सम्वाददाताहरुसँग भने, “शासकीय स्वरुपमा सैद्धान्तिक सहमति भईसकेपछि अब संघीयतामा सहमति गर्छौं भन्ने एउटा राजनीतिक वक्तव्य दिऔं भन्दा पनि उहाँहरु तयार हुनुभएन, जसरी पनि बहुमतद्वारा प्रतिगमनकारी संविधान बनाउन सक्छौं भन्ने घमण्डले गर्दा हुनै लागेको सहमति फेरि पनि तोड्नुभयो।”

बन्धक

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले भने विपक्षीहरुको हठका कारण अल्पमतले दुई तिहाइ बहुमतलाई बन्धक बनाउन खोजेकाले संविधान ल्याउने प्रयास विफल भएको बताए।

उनले भने, “हामीसँग दुई तिहाई भए पनि सहमतिका लागि लागिरहेका छौं, सहमतिको प्रयास असफल भएपछि मतदानमा नगएको कुन देश छ? सहमति हुनै नसकेपछि त मतदान प्रक्रियामै जाने हो नि।”

शुक्रबार अपरान्हसम्ममा सहमति हुन नसके दिउँसो बोलाईएको बैठक पनि अवरुद्ध गर्ने विपक्षीहरुको अडान छ।

संविधानसभाका अध्यक्षले बिहिबार राति अवरोध कायमै रहे संविधान जारी गर्न सम्भव नहुने चेतावनी दिए।

तर अवरोधको लम्बिदो श्रृँखला तोड्न उनको भूमिका के हुन्छ भन्ने चासो बढ्दै गएको छ।