जापानी प्रधानमन्त्रीद्वारा ‘हत्या’ को निन्दा

  • 25 जनवरी 2015
तस्वीर कपीराइट AP
Image caption आईएसले दुईजना जापानी नागरिकलाई अपहरण गर्दै फिरौति माग गरेको थियो

जापानका प्रधानमन्त्रीले इस्लामिक स्टेट (आईएस) द्वारा बन्धक बनाइएका आफ्नो देशका नागरिकको हत्या गरिएको भनिएको भिडियोले स्तब्ध बनाएको भन्दै त्यसको निन्दा गरेका छन्।

आईएसले एउटा भिडिओ सार्वजनिक गर्दै जापानी नागरिक हारुन युकावाको हत्या गरेको दावी गरेको थियो।

जापानले उक्त भिडिओ फुटेजको जाँच गरिरहेको जनाएको छ।

आईएसले ७२ घण्टाभित्र जापानले २० करोड डलर नदिएमा आफूले अपहरण गरेका दुईजनाको हत्या गर्ने चेतावनी मंगलवार दिएको थियो।

नझुक्ने

प्रधानमन्त्री आबेले आतंकवादी सामू नझुक्ने प्रतिकृया दिए।

उनले भने, “उक्त आतंकवादी कार्य घृणित र अस्वीकार्य हिंसात्मक काम हो।”

प्रधानमन्त्री शिंजो आबेले अपहरित अर्का नागरिक केन्जि गोटोको तत्काल सकुशल रिहाइको माग गरेका छन्।

उक्त भिडिओमा केन्जि गोटो भनिएका व्यक्तिलाई पनि देखाइएको छ।

अमेरिकी साथ

एउटा वकत्व्यमा अमेरिकी राष्ट्रपति बराक ओबामाले भनेका छन्, “आतंकवादी समूह आईएसआईएल (आईएस) द्वारा गरिएको जापानी नागरिकको बर्बर हत्याको कडा शब्दमा निन्दा गर्दछु।”

उनले अमेरिका जापानसँग काँघमा काँघ मिलाएर उभिने पनि बताए।

समाचारहरुका अनुसार सैन्य सम्बन्धी ठेकापट्टा गर्ने एउटा निजी कम्पनी स्थापना गर्न गत अगस्त महिना सिरिया गएका बेला ४२ वर्षिय हारुन युकावालाई लडाकूहरुले अपहरण गरेका थिए।

४७ वर्षिय केन्जी गोटो नाम चलेका स्वतन्त्र पत्रकार र डकुमेन्ट्री फिल्म निर्माता हुन्।

अपहरित युकावाको रिहाइको प्रयासका निम्ति उनी गत अक्टोबरमा सिरिया गएको बताइएको छ।