'प्रकृया अघि बढे अझै सशक्त प्रतिकार गर्छौं'

  • 24 जनवरी 2015
Image caption आइतबारबाट प्रकृया अघि बढे संविधान ३ महिनाभित्र जारी हुन सक्ने विज्ञहरुले बताएका छन्।

एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधानसभा अध्यक्षले आइतबारदेखि सुरु गर्ने भनिएको प्रकृयाको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

शनिबार मोर्चाको तर्फबाट एकीकृत माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले सभाध्यक्षलाई भेटी आफ्नो निर्णयको जानकारी गराउँदै केही दिन संविधानसभा बैठक स्थगित गरेर सत्तारुढ दलहरुलाई वार्ताका लागि अनुरोध गरिदिन आह्वान गरेका छन्।

विपक्षीको माग बेवास्ता गरि सभाध्यक्षले प्रकृया अघि बढाउन खोजिए त्यो नियम विपरित हुने मोर्चाको ठहर छ।

गएको सोमबार मध्यरात सभाध्यक्ष सुवास नेम्वाङले कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई प्रश्नावली समिति गठनको प्रस्ताव पेश गर्नका लागि बोलाएदेखि मोर्चाले लगातार संविधानसभाका बैठकहरुमा अवरोध पुर्याउँदै आएको छ।

चेतावनी

माघ ८ को समयसीमा गुज्रिएपछि शुक्रबार डाकिएको बैठकमा पनि मोर्चाले अवरोध कायम राखेपछि सभाध्यक्ष नेम्वाङले, तुलनात्मक रुपमा कडा अभिव्यक्ति दिँदै, संविधानका विवादित विषयबारे प्रश्नावली तयार गर्न समिति गठन गर्ने प्रस्तावलाई आइतबारको बैठकमा आफैले पेश गरेर निस्कर्षमा पुर्याउने बताएका

थिए।

सभाध्यक्षको त्यस्तो तयारीमाझ शनिबार बसेको विपक्षी मोर्चाको बैठकले सभाध्यक्षले कांग्रेस एमालेको प्रस्ताव अघि बढाउन खोजेको भन्दै त्यसो गरिए उनको तटस्थता र गरिमा समाप्त हुने चेतावनी दिएको छ।

३० दलीय गठबन्धनको तर्फबाट वक्तव्य निकालेरै त्यस्तो चेतावनी दिएका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग भने, "त्यसलाई रोक्ने हाम्रो तर्फबाट पूरै कोशिस हुन्छ किनभने यसले सिंगो देशलाई दुर्घटनामा लैजाने कुरामा हामीले परोक्ष प्रत्यक्ष रुपमा सहयोग गर्नसक्ने स्थिति हुँदैन, सम्भवत अबको

प्रतिवाद थप सशक्त हुनसक्छ।"

अपील

आफूहरु वार्ताबाट गतिरोध अन्त्य होस् भन्ने पक्षमा रहे पनि सभाध्यक्षलाई दबाब दिएर सत्तारुढ घटकहरुले जबरजस्ती प्रकृया अगाडि बढाउन खोजेको भन्दै मोर्चाले त्यसले राजनीतिक गतिरोध चर्काउने टिप्पणी गरेको छ।

उसले सहमतिका लागि वार्ता गर्न सत्ताधारी दलहरुलाई अपील पनि गरेको छ।

तर आइतबार प्रकृया बढाउन खोजे आफूहरुले गर्ने प्रतिवादबारे मोर्चाको अर्को घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले भने, "हामी बेल घेर्छौं, नाराबाजी चर्को गर्छौं, बाकिँ कुरा सत्तापक्ष, सभाध्यक्ष र मर्यादापालक कसरी आउँछन् त्यो अनुसार के गर्ने हो भोलि नै भन्ने कुरा हो।"

तनाव जारी रहँदा दुई पक्षमाझ सार्थक वार्ता हुन सकेको छैन।