‘संक्षिप्त प्रक्रियाबाट तीन महिनामा संविधान’

  • 24 जनवरी 2015
तस्वीर कपीराइट bbc
Image caption प्रक्रियाबाट जान खोजिए अवरोध गरिरहने विपक्षीहरुको चेतावनी छ

संविधानसभाले आईतबार प्रश्नावली समिति गठन गरी संक्षिप्त प्रक्रियाबाट जान खोजे नयाँ संविधान जारी गर्न लगभग ३ महिना लाग्ने एकजना विज्ञले बताएका छन्।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आईतबार दिउँसो बस्ने संविधानसभाको बैठकमा प्रश्नावली समिति गठन गर्ने विषयलाई निष्कर्षमा पुर्याउने घोषणा गरेका थिए।

दलहरुबीच असहमति देखिएको अहिलेको अवस्थामा संविधानसभाले करिब १ सयवटा प्रश्नहरुमाथि निर्णय गरेर मस्यौदा लेखनअघि बढाउनुपर्ने बताइन्छ।

संविधानका विवादित विषय प्रश्नावली बनाएर टुंगो लगाउन समिति बनाउने प्रस्तावपछि गत सोमबार मध्यरातदेखि संविधानसभा अवरुद्ध रहेको छ।

प्रश्नावली

उक्त प्रस्तावलाई आफूले आइतबार टुंगोमा पुर्याउने घोषणा संविधानसभाका अध्यक्षले गरेपछि प्रश्नावली समितिमार्फत अघि बढ्दा झन्डै सय वटा प्रश्नहरुबारे संविधानसभाले निर्णय गर्नुपर्ने अवस्था रहेको अघिल्लो संविधानसभाका कानुनी सल्लाहकार समेत रहेका कानुन मन्त्रालयका सहसचिव टेकप्रसाद ढुंगानाले बीबीसी बताए।

उनले भने, “हो वा होईन भनी जवाफ दिने गरी संविधानसभाले प्रश्नावली बनाउनुपर्ने हुन्छ, अहिले अनुमान गर्दा करिब सयवटा प्रश्नहरु हुन सक्छन्। ”

प्रमुख दलहरु न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा लगभग सहमतिमा पुगेपनि संघीयता र शासकीय स्वरुपमा रहेको विवाद अझै टुंगो लाग्न सकेको छैन्।

तस्वीर कपीराइट bbc
Image caption संविधान सभाध्यक्षले आईतबार प्रक्रियाबारे टुंगोमा पुगिने बताएका छन्

प्रश्नावली समिति गठनसम्बन्धी विवाद टुंगो लगाएपछि संविधान जारी गर्ने नयाँ कार्यतालिका तय गर्ने तयारी संविधानसभा सचिवालयको छ।

समयसीमा

प्रश्नावली समिति बनाएर संक्षिप्त प्रकृया अपनाएर अघि बढ्दा पनि संविधान जारी गर्न झन्डै ३ महिना लाग्ने ढुंगानाको भनाई छ।

उनले भने, “मस्यौदा समितिले एक साताभित्र मस्यौदा तयार पार्न सक्यो भने त्यसलाई संविधानसभामा पेश गरेर संक्षिप्त प्रक्रियाबाट पारित गर्दा तीन महिनाभित्र संविधान जारी गर्न सक्ने परिस्थिति हुन्छ।”

आफैँले तोकेको माघ ८ को समयसीमा बिहिबार गुजारेका दलहरुलाई संविधानसभा अध्यक्षले संविधान ल्याउने नयाँ मितिबारे जनतालाई जवाफ दिन आग्रह गर्दै आएका छन्।

बहुमतीय प्रक्रिया जबरजस्ती अघि बढाईए संविधानसभा र सडक दुवैबाट प्रतिकार गर्ने चेतावनी विपक्षी मोर्चाले दिदै आएको छ।