क्युबा-अमेरिका वार्ता ‘रचनात्मक’

  • 24 जनवरी 2015
तस्वीर कपीराइट AP
Image caption क्युबा र अमेरिकाबीच कुटनीतिक सम्बन्ध सन् १९६१ मा टुटेको थियो

अमेरिका र क्युबाबीच पाँच दशकभन्दा बढी समयदेखि टुटेको कुटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने उद्देश्यले दुई मुलुकका अधिकारीहरुबीच हवानामा भएको दुई दिने वार्ता सकारात्मक रुपले सकिएको छ।

वार्तालाई दुवै पक्षले सौहार्दपूर्ण र रचनात्मक भनेका छन्।

युनियन अफ स्टेटको संबोधनमा अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबामाथि लगाउँदै आईएको आर्थिक प्रतिबन्ध हटाउन चाहेको बताएपछि अमेरिकी विदेश मन्त्रालयका अधिकारी र क्युबा सरकारका प्रतिनिधिहरुबीच दुई दिने वार्ता भएको हो।

अमेरिकी सहायक विदेशमन्त्री रोबर्टा ज्याकोब्सनले वार्ता निकै सौहार्पूर्ण र सम्मानजक तवरले भएको बताईन्।

जिम्मेवारी

दुवै तर्फका प्रतिनिधिहरुले आफ्नो जिम्मेवारीको महत्व महसुस गरेको उनको भनाई थियो।

मानवअधिकारलाई हेर्ने दुवै पक्षको फरक बुझाई रहेको ज्याकोब्सनले बताईन्।

वार्ता सकिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले मानवअधिकारको विषयमा वासिङ्गटनले कुरा उठाईरहने जनाईन्।

ज्याकोब्सनका अनुसार क्युबा र अमेरिकाबीच गहिरो मत रहिआएको विषयमा पनि वार्तामा छलफल गरिएको थियो।

तस्वीर कपीराइट Getty
Image caption आगामी द्विपक्षीय वार्ताबारे केही उल्लेख गरिएको छैन्

त्यसअन्तर्गत अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको क्षेत्रमा क्युबामा भएका प्रगतिबारेका अमेरिकी चासोका विषय पनि परेको उनले उल्लेख गरिन्।

महत्वपूर्ण

तर त्यसबारे उठाईएका विषयहरु क्युबाले अस्वीकार गरेको थियो।

क्युबाका अधिकारीहरुले अमेरिकाको मानवअधिकारको अवस्थाको आलोचना गरेको ज्याकोब्सनले बताईन्।

समग्रमा दुवै मुलुकले उक्त वार्तालाई एउटा महत्वपूर्ण कदमको रुपमा लिएको उनले जनाईन्।

तर ज्याकोब्सनले भनिन्, “मैले कुटनीतिक क्षेत्रबाट वर्षौदेखि सिकेको एउटा कुरा के हो भने ५० वर्षदेखि फाटो देखिएको सम्बन्ध एउटा वार्ताबाट सुधार्न सकिदैन।”