'ओबामाको भ्रमणपछि नयाँ यात्राको थालनी'

  • 25 जनवरी 2015
तस्वीर कपीराइट Reuters
Image caption मोदीले ओबामाको भ्रमणले दुई देशबीच सहयोगको नयाँ यात्रा शुरु हुन लागेको बताएका छन्।

अमेरिकी राष्ट्रपति बराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपक्षीय गैरसैनिक परमाणु सम्झौतालाई लामो समययता अड्काइराख्ने मामिलाहरुमा सहमति भएको बताएका छन्।

दुईपक्षीय भेटपछि दिल्लीमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि दुई देश अब व्यापारिक सहयोगका लागि अघि बढेको बताए।

ओबामाले अमेरिका र भारतले संयुक्त आयोजनाहरुमा काम गर्दै दुईपक्षीय प्रतिरक्षा साझेदारी अझ गहिरो बनाउने र व्यापारलाई नयाँ उचाइमा पु-याउने बताए।

मोदी र ओबामाले पछिल्लो सहमतिलाई दुईपक्षीय सम्बन्धमा कोशेढुंगाका रुपमा पनि व्याख्या गरेका छन्।

वाचा

दिल्लीको हैदराबाद हाउसमा मोदीलाई भेटेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओबामाले प्रतिरक्षालगायत उर्जा विकासमा समेत आफूहरुको सहयोग भारतलाई रहने वाचा गरे।

उनले भने, "आज हामीले लामो समयदेखि हाम्रो गैरसैनिक परमाणु साझेदारीलाई अड्काइराख्ने दुईवटा विषयमा निकै महत्वपूर्ण समझदारी बनाएका छौं र हामी त्यसको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध छौं। कसरी संगै काम गर्न सकिन्छ र सम्बन्धलाई उचाइमा पु-याउन सकिन्छ भन्नेतर्फ यो महत्वपूर्ण कदम हो।"

ओबामासंगै लय मिलाउंदै मोदीले पनि प्रतिरक्षा र व्यापार साझेदारीको ताजा थालनी हुन लागेको घोषणा गर्दै अब थप निरन्तर दुईपक्षीय वार्ता हुने प्रतिबद्धता जनाए।

जलवायु परिवर्तनसम्बन्धी मुद्दाको विषयमा सोधिएको एक प्रश्नमा मोदीले भारतमा कसैको दबाबको कुनै काम नहुने तर एउटा ज्यादै ठूलो दबाबचाहिँ आउँदा पीढीलाई कस्तो पृथ्वी दिँदै छौं भन्नेमा रहेको बताएका थिए।

पत्रकार सम्मेलनमा बोल्दै ओबामाले सबै भारतीयहरुलाई हिन्दी भाषामै आफ्नो प्रेमसहितको नमस्कार पनि भनेका थिए।

आफ्नो राष्ट्रपतीय कार्यकालभित्र भारतको दोस्रोपटक भ्रमण गर्ने ओबामा पहिलो अमेरिकी राष्ट्रप्रमुख हुन्।

आभार

भारत भ्रमणका लागि आइतबार बिहान दिल्ली पुगेका ओबामाले दोहोराएर भारत आउन पाउनुलाई सम्मानको रुपमा व्याख्या गरेका थिए।

सोमबार हुने भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने उनी पहिलो अमेरिकी राष्ट्रपति पनि हुनेछन्।

मोदीले ओबामाको भ्रमणले दुई देशबीच सहयोगको नयाँ यात्रा शुरु हुन लागेको बताए।

मोदीले सामान्य शिष्टाचारको वास्ता नगरी उनलाई स्वागत गर्न आफैँ दिल्ली एयरपोर्ट पुगेर उक्त भ्रमणको महत्व दर्शाएका थिए।

उनको भ्रमणलाई लक्षित गरी दिल्लीमा हजारौं सुरक्षाकर्मी तैनाथ गरिएको छ भने झन्डै १५ हजार क्यामेरा निगरानीका लागि राखिएको छ।