ग्रीसको आमनिर्वाचनमा वामपन्थी दल विजयी

  • 26 जनवरी 2015
तस्वीर कपीराइट AFP
Image caption मतपरिणाम आईरंहदा सिरिजा पार्टीका समर्थकहरुले खुसीयाली मनाउन थालेको बताईएको छ

ग्रीसमा सम्पन्न आमनिर्वाचनमा सरकारको मितव्ययियतासम्बन्धी कार्यक्रमको विरोध गर्दै आएको वामपन्थी झुकाव भएको सिरिजा पार्टी विजयी भएको छ।

उक्त पार्टीको विजयसंगै युरोपेली सघसंग टकराव देखिन सक्ने अनुमान गरिएको छ।

करिब ७५ प्रतिशत मत गणना भईसकेको छ र सिरिजा पार्टीले कुल १ सय ५० सीट जित्ने प्रक्षेपण गरिएको छ।

पूर्ण बहुमतका निम्ति उसलाई १/२ सीट नपुग्न सक्ने बताईएको छ।

इतिहास

तर प्रक्षेपण गरिएको सीट संख्या परिवर्तन हुन सक्ने समाचारमा जनाईएको छ।

सिरिजा पार्टीका नेता एलेक्सिस सीप्रासले ग्रीसका जनताहरुले इतिहास रचेको बताएका छन्।

सत्तारुढ मध्य दक्षिणपन्थी न्यु डेमोक्र्यासी पार्टी ठूलो मतअन्तरले दोस्रो स्थानमा छ।

तस्वीर कपीराइट EPA
Image caption एलेक्सिस सीप्रासले ऋणदाताहरुसंग व्यावहारिक सम्झौता गरिने बताएका छन्

एथेन्सस्थित बीबीसीका गेभिन हेविट्ट भन्छन्, ग्रीसको आमनिर्वाचनको परिणामले युरोपभरि आश्चर्य ल्याउन सक्छ।

मध्य एथेन्समा समर्थकहरुलाई संबोधन गर्दै सीप्रासले ग्रीसका स्थापित दलहरुको जहानिया शासन अन्त्य भएको बताए।

व्यावहारिक

उनले भने, “ग्रीसका जनताले एउटा स्पष्ट र शक्तिशाली जनादेश दिएका छन्, ग्रीसले गरिबीलाई पछाडि छोडिदिएको छ, डरलाई पछाडि छोडिदिएको छ।”

उनले मतदाताहरुलाई परिवर्तन हुन लागेको इतिहासको उदाहरणको संज्ञा दिए।

सीप्रासले अघिल्लो सरकारले ल्याएको मितव्ययितासम्बन्धी कार्यक्रमहरु अन्त्य हुने बताए।

उनले ग्रीसको कर्जाबारे ऋणदाताहरुसंग व्यावहारिक सम्झौता गरिने जनाए।