सशर्त जिहादी महिला रिहा गर्न जोर्डन तयार

  • 28 जनवरी 2015
तस्वीर कपीराइट RAQQA MEDIA CENTER
Image caption आइएसले जोर्डनी विमानचालकको हत्या गरिदिने चेतावनी दिएको छ।

आफ्नो कब्जामा रहेका जोर्डनी लडाकु विमान चालकलाई इस्लामिक स्टेटले रिहा गरेमा आफ्नो थुनामा रहेकी एकजना इराकी जीहादी महिलालाई हस्तान्तरण गर्ने जोर्डनका सूचना मन्त्रीले बताएका छन्।

इस्लामिक स्टेटले मंगलबार एउटा भिडियो जारी गर्दै, ति महिला बन्दीलाई नछोडे ति जोर्डनी विमानचालक र एकजना जापानी पत्रकार केन्जी गोटोलाई २४ घण्टा भित्र मारिदिने धम्की दिएको थियो।

इस्लामिक स्टेटले दिएको समयसिमा नजीक आउंदै गर्दा जोर्डनी अधिकारीहरुमाथि दबाब पनि चर्कंदै गएको छ।

गत महिना उत्तरी सिरियामा बम हमला गर्ने ‌सिलसिलामा गोली हानी खसालिएको एउटा लडाकु विमानका ति युवा जोर्डनी चालकलाई, कुनै पनि मूल्यमा रिहा गराउन उनको परिवारले माग गरिरहेको छ।

शर्त

तिनीहरुले उग्रवादीहरु विरुद्धको लडाईंमा जोर्डन किन सामेल भएको हो भनि प्रश्न पनि उठाएका छन्, जुन कुराले अमेरिकी नेतृत्वको गठबन्धन सैन्यमा जोर्डनको भुमिकालाई लिएर उत्पन्न सार्वजनिक आक्रोशमा बल पुगेको छ।

एउटा संक्षिप्त वक्तव्य जारी गर्दै एकजना सरकारी प्रवक्ताले, थुनामा राखिएकी ति इराकी उग्रवादी महिला साजीदा अलरिसावीलाई रिहा गर्न तयार रहेको बताएका छन्।

तिनलाई सन् २००५ मा ६० जनाको ज्यान जाने गरी भएको आत्मघाती बम हमलामा भुमिका खेलेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ।

जापानी पत्रकारका बारेमा भने कुनै चर्चा गरिएको छैन।

जापानी प्रधानमन्त्री शीन्जो आबेले आइ एसले जारी गरेको नयाँ भिडियोलाई निन्दनीय भन्दै बन्दीहरुको रिहाईका लागि जोर्डन र जापानले मिलेर काम गरिरहेको बताएका छन्।

बीबीसीका सुरक्षा संवाददाता फ्र्यांक गार्ड्नर भन्छन्, आइ एसले दिएको धम्की बास्तविक भएपनि या नभएपनि त्यो कुनै पनि बन्धक प्रकरणमा उत्पन्न हुने अन्योलको केन्द्रमै पुगेको छ।

आफ्नो प्रीयजनलाई रिहा गराउन बन्धक बनाउनेहरुको माग मान्ने की नमान्ने भन्ने अवस्था निकै अप्रीय हो।