बायोग्यास प्रविधिलाई विस्तार गर्ने तयारी

  • 30 जनवरी 2015
Image caption बायोग्यास प्लान्ट निर्माण गर्दा लागतको ५० प्रतिशत अनुदान दिने अधिकारीहरु बताउँछन्।

बजारमा खाना पकाउने ग्यासको अभाव देखिइरहेको बेला झापाका करीब ४ सय ५० घरधुरी घरमै ग्यास उत्पादन गरेर चुलो बालिरहेका छन्।

उनीहरुलाई बजारमा ग्यास अभाव होस नहोस कुनै परवाह छैन।

मानिसको मलमूत्रबाट उत्पादित उक्त ग्यासको प्लान्ट लगाउन अत्यन्तै सस्तो समेत हुने विज्ञहरुको भनाई छ ।

विर्तामोडका प्रकाशचन्द्र पकुवालले विगत १० वर्षदेखि आफ्नै घरमा दिसा पिसाबबाट खाना पकाउने ग्यास उत्पादन गरिरहेका छन्।

किफायती

बजारमा खाना पकाउने ग्यासको हाहाकार भइरहेका बेला आफ्नै घरमा उत्पादित ग्यासले उनको चुलो बलिरहेको छ।

“म एकदमै सन्तुष्ट छु, जति बढी शौचालय प्रयोग गर्ने मानिसहरु घरमा भए त्यति नै बढी ग्यास उत्पादन हुन्छ, आर्थिक रुपमा पनि यो निकै किफायती छ।”

हरेक कुराले किफायती भएपछि विर्तामोड तथा आसपासका क्षेत्रका सार्वजनिक भवन, विद्यालय, कलेज तथा घरहरु गरी करीब ४ सय ५० स्थानमा मानव मलमूत्रबाट खाना पकाउने ग्यास उत्पादनको प्लान्ट लगाइएको छ।

सोही ग्यास प्रयोग गर्ने अर्का प्रयोगकर्ता मेघराज कार्की भन्छन्, “घर बनाउँदा यो प्लान्ट जोड्यो भने एकदमै सहयोग पुग्छ, एकदमै राम्रोसँग चलिरहेको अनुभव गरिरहेका छौँ।”

परिवारका सदस्य अथवा उक्त ग्यास प्लान्ट बनाइने भवनमा दिसा पिसाब गर्ने मानिसहरुको संख्याका आधारमा सानो वा ठूलो किसिमको प्लान्ट लगाउन सकिने विगत २० वर्षदेखि उक्त प्लान्ट बनाउने काममा जुटेका विर्तामोडका चैतन्यप्रकाश मैनाली बताउँछन्।

“६ जना परिवारका सदस्य हुँदा ४ घन मिटरको प्लान्ट बनाउन सकिन्छ, त्यस्तो परिवारलाई आफ्नो लागि खाना पकाउन पर्याप्त ग्यास उत्पादन गर्न सकिन्छ।”

सम्भावना

घर बनाउँदा साधारण तरिकाबाट दिसा पिसाब सञ्चित गर्ने ट्यांकी बनाउँदा जति खर्च लाग्छ त्यो भन्दा आधा खर्चमा यो प्लान्ट बनाउन सकिने भएकाले व्यक्ति लगायत देशलाई समेत फाइदा हुने विज्ञहरु बताउँछन्।

उनीहरु भन्छन्, ९८ प्रतिशत मानव मलमूत्र खाना पकाउन प्रयोग हुने मिथेन ग्यासमा परिणत हुन्छ जसका कारण ट्यांकी चाँडो भरिने संभावना रहँदैन।

नेपाल वायोग्यास प्रवर्द्धन संघका कार्यकारी निर्देशक विष्णु बेल्बासे भन्छन्,“साधारण खर्चले पनि धान्न सकिने, वर्षौसम्म चल्ने अनि एउटा सामान्य बायो ग्यास प्लान्टले महिनाभरमा बजारमा बिक्री हुने दुईवटा सिलिन्डर बराबरको ग्यास उत्पादन गर्छ।”

उनका अनुसार उपभोक्ताले झन्डै ४ वर्षमा बायो ग्यास निर्माण गर्दा गरेको सम्पूर्ण लगानी बराबरको प्रतिफल पाउन सक्छन्।

सिलिण्डर ग्यास अभावको अवस्था चुलीमा पुगेका बेला, बेलैमा सोचेर यस्तो किसिमको घरैमा उत्पादन हुने ग्यास प्लान्ट लगाउने पहल कदमी देशभर हुनुपर्नेमा विज्ञहरुको जोड छ।

जटिलता

खाना पकाउने ग्यासको संकट दोहोरिरहँदा सरकारले बायोग्यास प्रविधिलाई शहरी क्षेत्रमा ठूलै स्तरमा विस्तार गर्ने तयारी गरिरहेको छ।

कुहीने खालका फोहरहरुको प्रयोग गरेर उच्च क्षमताका संस्थागत र व्यक्तिगत गरी १२ सयवटा बायोग्यास पलान्ट बनाउने लक्ष्य रहेको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ।

जसका लागि अहिले काठमाण्डू उपत्यका लगायतका देशका प्रमुख शहरहरुमा विस्तृत अध्ययन अघि बढाइएको छ।

देशभर मुख्यगरी ग्रामीण बस्तीमा बसोबास गर्ने करिब ३ लाख घरधुरीले हाल बायोग्यास जडान गरेको केन्द्रको भनाइ छ।

गाईवस्तुको गोबर र मानव मलमूत्रबाट ग्यास उत्पादन गर्न शहरी क्षेत्रमा जटिलता रहेको हुँदा फोहरबाट ग्यास उत्पादन गर्ने प्रविधि भित्र्याउन लागिएको केन्द्रका सहायक निर्देशक सुर्य कुमार सापकोटाले बताए।