रासायनिक हतियार विज्ञ मारिए: अमेरिका

  • 31 जनवरी 2015
तस्वीर कपीराइट AFP
Image caption इश्लामिक स्टेट लडाकुसँग रासायनिक हतियार छ छैन भन्ने प्रमाण फेला परिसकेको छैन

संयुक्त राज्य अमेरिकाको सेनाले भनेको छ इश्लामिक स्टेट लडाकु समुहसँग काम गरिरहेका एकजना रासायनिक हतियार विशेषज्ञ इराकमा भएको हवाइ कारवाहीमा मारिएका छन्।

अमेरिकीहरुका अनुसार अबु मलिक नामका ति व्यक्ति मोसुल शहर नजिकै मारिएका हुन्।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार अबु मलिकले पूर्व इराकी राष्ट्रपति सद्दाम हुसेनका लागि रासायनिक हतियार इन्जिनियरका रुपमा काम गरेका थिए।

उनी पछि लडाकु समुह इश्लामिक स्टेटसँग आबद्ध भए।

अवरुद्ध

अमेरिकी हरुले भनेका छन् 'उनको विशेषज्ञताले अतिवादीहरुलाई रासायनिक हतियार बनाउने र र प्रयोग गर्ने अवसर दिनेथियो अब त्यो खतरा अवरुद्ध भएको छ।'

इश्लामिक स्टेटले सिरियाको ठूलो भूभाग नियन्त्रणमा लिएको छ जहाँको सरकारले सन २०१३ मा डमास्कसमा स्नायु प्रणालीमाथि प्रभाव पार्ने ग्यास आक्रमण भएपछि रासायनिक हतियार नष्ट गर्न सहमत भएको छ।

तर भण्डारण गरिएका सबै बस्तु निगरानीमा आइसकेको छैन र लामो समयदेखि कतै ति बस्तु अतिवादी समुहको हातमा जाने हो कि भन्ने त्रास प्रकट हुँदै आएको छ।

आइएसले क्लोरिन ग्यास प्रयोग गरेका रिपोर्टहरु आउने गरेका छन् तर उक्त समुहले रासयानिक हतियार ठूलो संख्यामा बनाइसकेको भन्ने प्रमाण फेला परिसकेको छैन।

गत वर्ष बगदादको उत्तरमा जिहादी समुह र प्रहरी अधिकारीहरुबीच भएको झडपछि प्रहरीहरुमा बेहोस हुने र वान्ता हुने समस्या देखिएको थियो।