‘बन्दी आदानप्रदानको प्रयास जारी’

  • 1 फेब्रुअरी 2015
goto तस्वीर कपीराइट AFP
Image caption आइएसले जोर्डनी पाइलटसंगै बन्धक रहेका जापानी नागरिक केन्जी गोटोको हत्या गरिसकेको छ

इस्लामिक स्टेट आइएसले जापानी पत्रकारको हत्या गरेपनि उनीसंगै उक्त समूहको नियन्त्रणमा रहेका आफ्ना नागरिकको बचावका लागि जोर्डनले बन्दी आदानप्रदानको प्रयास जारी राख्न अझै तयार रहेको जनाएको छ।

जोर्डन सरकारका एक जना प्रवक्ताले आइएसको कब्जामा रहेका जोर्डनी लडाकु विमानका चालकको बदलामा आफ्नो हिरासतमा रहेकी इराकी जिहादी महिलालाई छाड्न तयार रहेको बताए।

निन्दा

जोर्डनले जापानी पत्रकार केन्जी गोटोको हत्याको निन्दा गरेको छ तर आफ्ना नागरिकको सकुशल रिहाइका लागि आइएससंग बन्दी आदानप्रदानको कार्यमा सहभागी हुन तयार रहेको जनाएको छ।

पाइलट मुआथ अल कसासबेको सकुशल रिहाइको बदलामा जोर्डनले आइएसको माग बमोजिम इराकी जिहादी महिलालाई छाड्न सकिने बताएको हो।

ती महिला सजिदा अल रिसावी अम्मानमा सन् २००५ मा भएको आत्मघाती आक्रमणमा भूमिका खेलेको भन्दै पक्राउ परेकी थिइन।

जोर्डनी सरकारका प्रवक्ता महोम्मद अल मोमेनीले पाइलटको सकुशल मुक्तिका लागि राज्यका सबै निकायलाई परिचालन गरेको बताए।

बन्दी आदानप्रदान गर्नुपूर्व ती पाइलट जीवित रहेको प्रमाण दिन पनि जोर्डनीहरुले भनिरहेका छन्।

चिन्ता

आइएसले जोर्डनी पाइलट र संगै कब्जामा रहेका जापानी पत्रकारलाई मुक्त गर्न ती जिहादी महिलालाई छाड्नुपर्ने शर्त राखेको थियो।

तर उनले जापानी पत्रकारको हत्या गरेको भिडियो सार्वजनिक गरेपछि चिन्ताहरु बढेका छन्।

जापानी प्रधानमन्त्री सिन्जो आबेले उक्त हत्याको भर्तसना गर्दै आइएसविरुद्ध लडिरहेको अन्तर्राष्ट्रिय गठवन्धनसंग सहकार्य जारी राख्ने र दोषीहरुलाई कानूनसमक्ष उभ्याउने प्रतिवद्धता जनाएका छन्।