इजिप्टद्वारा अल जजिराका पत्रकार ग्रेस्ट रिहा

  • 2 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption कायरोस्थित एउटा अदालतले गत महिना मुद्दाको पुनः सुनुवाई गर्न आदेश दिएको थियो

इजिप्टमा चार सय दिनसम्म बन्दी जीवन बिताएपछि मुक्त गरिएका अल जजिराका पत्रकार पिटर ग्रेस्टका परिवारले उनका दुईजना सहकर्मीहरु रिहा नहुञ्जेल उनले आराम नगर्ने बताएको छ।

ग्रेस्टको रिहाईप्रति खुशी व्यक्त गर्दै उनलाई छुटाउन सहयोग गर्ने सबैलाई उनीहरुले धन्यवाद दिएका छन्।

ब्रिस्बेनमा आयोजित एउटा पत्रकार सम्मेलनमा परिवारजनले ग्रेस्ट सुरक्षित, स्वस्थ र निकै खुशी भएको बताएका छन्।

तर उनीहरुले भने, "ग्रेस्टले आफ्ना अन्य दुई साथीहरु मुक्त नभएसम्म आराम गर्ने छैनन्।"

निकाला

यसअघि इजिप्टले ग्रेस्टलाई रिहा गर्दै देश निकाला गरेको थियो।

बीबीसीका पूर्वसंवाददाता समेत रहेका त्यहाँबाट ग्रेस्ट साइप्रस प्रस्थान गरेका थिए।

झुठा समाचारहरु फैलाएको र मुस्लिम ब्रदरहुडलाई सघाएको ग्रेस्टमाथि आरोप लगाईएको थियो।

अल जजिराले ग्रेस्टलाई रिहा गर्ने निर्णयको स्वागत गर्दै उनका दुई जना सहकर्मी मोहम्मद फाह्मी र बाहेर मोहम्मदलाई पनि रिहा गर्न माग गरेको छ।

तस्वीर कपीराइट AP
Image caption मोहम्मद फाह्मी र बाहेर मोहम्मदलाई कहिलेे रिहा गरिने भन्ने स्पष्ट भएको छैन्

इजिप्टको राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार, क्यानाडा र इजिप्टको नागरिकता भएका फाह्मीको इजिप्टको नागरिकता खारेज गरिएपछि उनलाई क्यानाडा पठाईनेछ।

सजाय

निकै विवादित बनेको अदालती सुनुवाईपछि तीनै जना पत्रकारहरुलाई जेल सजाय सुनाईएको थियो।

गत महिना कायरोस्थित एउटा अदालतले उनीहरुविरुद्धका सबै आरोपहरु खारेज गर्दै पुनः सुनुवाई थाल्न आदेश दिएको थियो।

आफूहरुमाथि लगाईएका सबै आरोपहरुको उनीहरुले खण्डन गर्दै आएका छन्।

सन् २०१३ मा सेनाले तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई सत्ताच्युत गरेपछि प्रतिबन्ध लगाईएको मुस्लिम ब्रदरहुडसंग मिलेर काम गरेको आरोप ती पत्रकारहरुमाथि लगाईएको थियो।

आफ्नो बचाउ गर्दै तीनै जनाले आफूहरुले समाचार रिपोर्टिङ्ग मात्र गरेको बताउँदै आएका छन्।