'प्रश्नावली बनाउने काम शुरु'

  • 2 फेब्रुअरी 2015
तस्वीर कपीराइट bbc
Image caption विरोधका माझ अध्यक्ष सुवास नेम्वाङ्गले प्रस्ताव निर्माण समिति गठन गरेका हुन्

संविधानसभाको विवादित विषयलाई प्रकृयाबाट सल्टाउन आवश्यक प्रश्नहरु बनाउन गठित टोलीले सोमबारदेखि काम थालेको छ।

विपक्षीहरुको विरोधका माझ गठन गरिएको प्रस्ताव निर्माण समिति अन्तर्गतको प्रश्नावली उपसमितिले बनाएका प्रश्नहरु संविधानसभामा पेश गरिने योजना छ।

त्यसका निम्ति आगामी विहिबार संविधानसभाको बैठक डाकिएको छ।

चुनाौति

कार्य शुरु गरेको दिनदेखि पाँच दिनको समय पाएको उक्त समितिले आइतबार पारित गरेको कार्याविधि अनुसार सोमबारबाट प्रश्न निर्माण थालेको हो।

उसका सामु तीन दिनभित्र प्रश्नहरु बनाइसक्ने चुनौति छ।

त्यसबारे प्रश्नावली उपसमितिका संयोजक अग्नि खरेल भन्छन्, "विषयवस्तुबारे बुझ्न माननीय सदस्यहरुलाई अहिलेसम्मका सबै प्रतिवेदनहरु अध्ययन गर्न दिइएको छ। त्यसपछि ती सबै विषयवस्तुमा एक एक गरेर अघि बढ्नु पर्छ। हाम्रो कोशिश त समयमै सक्ने भन्ने छ।"

तर पहिलो दिनमै उक्त उपसमितिले नयाँ चुनौति बेहोर्नु परेको छ।

संविधानसभाले उक्त समिति निर्माण गरेदेखि बिच्किएका विपक्षी दलहरु अझैपनि सो प्रकृयामा सामेल नभइरहँदा, सोमबार, चौथो ठूलो दल राप्रपा नेपालले धर्म निरपेक्षता र गणतन्त्र जस्ता विषयमा पनि प्रश्न बनाउनु पर्ने आफ्नो माग सुनुवाई नभएको भन्दै पूरै प्रकृयाको, उसकै शब्दमा, सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ।

तर उनीहरुले भनेको विषय आफुहरुले सम्बोधन गर्न नसक्ने प्रश्नावली उपसमितिका संयोजक खरेलको जवाफ छ। "उहाँहरुले उठाएका विषयलाई फरक मतको रुपमा दर्ज गरेर संविधानसभासम्मै लैजाने कुरामा विमति होइन। तर केही विषयवस्तुहरु यस्ता छन् जसलाई संविधानसभाले टुंग्याइसकेको छ भने केही विषयहरु अन्तरिम संविधानले टुंग्याएको छ। बारम्बार ती विषयलाई प्रश्न बनाउँदै मतदानमा लाने भनाइसंग हामी सहमत हुन सक्दैनौं," खरेलले बताए।

प्रस्ताव निर्माण समितिलाई दिइएको समयसीमा सकिन लाग्दापनि विपक्षी मोर्चा र सत्तापक्षबीच सार्थक सम्वाद हुन नसक्दा संविधान निर्माणमाथिको अन्योल भने कायमै छ।