स्ट्रौस कानविरुद्धको मुद्दामा सुनुवाइ

  • 2 फेब्रुअरी 2015
strauss तस्वीर कपीराइट Reuters
Image caption स्ट्रौस कान यौनसम्बन्धी विवादमा तानिदै‌ आएका छन्

यौन क्रियाकलाप हुने जमघटहरुका लागि महिलाहरु खरिद गर्न सघाएको अभियोग खेपिरहेका अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख डोमेनिक स्ट्रौस कानविरुद्धको सुनुवाइ फ्रान्समा सुरु भएको छ।

एक ताका फ्रान्सको राष्ट्रपति पदमा निर्वाचित हुनसक्ने ठानिएका उनी, चार वर्षअघि एक जना महिला कामदारमलाई बलात्कार गर्न खोजेको आरोपपछि आफ्नो राजनीतिक यात्रा बीचमै छाड्न वाध्य भएका थिए।

आरोप

६५ वर्षे स्ट्रौस कानमाथि सन् २०११ मा लिइल शहरस्थित एक होटलमा वेश्यावृत्ति गिरोहका लागि यौनकर्मी खरिद गर्न सघाएको आरोप छ।

उनले यौन क्रियाकलाप हुने जमघटमा आफू सहभागी भएको स्वीकार त गरेका छन् तर त्यहां रहेका महिलामध्ये केही यौनकर्मी रहेको भन्ने थाहा नभएको बताएका छन।

उनीसंगै अन्य १३ जनालाई पनि अदालतमा उपस्थित गराइएको जनाइएको छ।

तीमध्ये एक जना एउटा चर्चित वेश्यालयका मालिक पनि छन्।

स्ट्रौस कानमाथि वासिंगटन, प्यारिस तथा लिइलका यौन पार्टीहरुमा आफ्नो व्यवसायिक सम्पर्कमार्फत वेश्यावृत्तिलाई बढावा दिएको अभियोग पनि छ।

यो घटना, यौनसम्बन्धी मामिलामा उनी अप्ठ्यारोमा परेको पछिल्लो उदाहरण हो।

यसअघि सन् २०११ मा न्यूयोर्कस्थित होटलमा त्यहांकी एक जना महिला कामदारमाथि बलात्कारको प्रयास गरेको आरोप पनि उनलाई लागेको थियो।

स्ट्रौस कानले पछि ती महिलासंग उक्त मामिला सुल्झाएपछि उनीमाथिको आरोप फुकुवा भएको थियो।

तर उक्त घटनापछि उनले अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख पदबाट राजीनामा दिनुपर्यो।

पछिल्लो अदालती घटनालाई फ्रान्समा सार्वजनिक छवि भएका व्यक्तिहरुको निजी जीवनबारे फ्रान्सेलीहरुको धारणा बदलिएको परीक्षणका रुपमा हेरिएको छ।