बन्धक बनाईएका पाइलटको हत्याः जोर्डन

  • 4 फेब्रुअरी 2015
तस्वीर कपीराइट EPA
Image caption कसासबहको रिहाईका निम्ति जोर्डन सरकारले एकजना महिला लडाकुलाई छाड्ने सक्ने बताईएको थियो

गत डिसेम्बरमा सिरियाबाट इस्लामिक स्टेट लडाकु समूहले बन्धक बनाएको जोर्डनका पाइलट मुआध अल-कसासबहको हत्या गरिएको पुष्टि गर्दै जोर्डन सरकारले त्यसको बदला लिने प्रण गरेको छ।

उक्त समूहले कसासबहलाई जिउंदै जलाईएको भनिएको भिडिओ सार्वजनिक गरेपछि जोर्डनले हत्याको पुष्टि गरेको हो।

भिडिओमा एक जना मानिस पिजडाभित्र जलिरहेको देखिन्छ।

अधिकारीहरुले उक्त भिडिओको अधिकारिता जाँच्ने काम भईरहेको बताएका छन्।

नायक

जोर्डनका राजा अब्दुल्लाहले कसासबहलाई नायकको संज्ञा दिदै कठिन घडीमा मुलुक एकताबद्ध हुनुपर्ने बताएका छन्।

उनले भने, “नायक पाइलट मुआध अल-कसासबहको आतंकवादी समूह इस्लामिक स्टेटद्वारा हत्या गरिएको सामाचारलाई हामीले धेरै दुःख, शोक र आक्रोशका साथ ग्रहण गरेका छौं।”

इस्लामिक स्टेट लडाकुविरुद्ध कारवाहीमा रहेको विमान गत डिसेम्बरमा सिरियाको राक्का नजिक अवतरण गरेका बेला कसासबहलाई लडाकुहरुले नियन्त्रणमा लिएका थिए।

इस्लामिक स्टेटले प्रोपोगाण्डाका लागि प्रयोग गर्दै आएको सामाजिक सञ्जाल ट्वीटरको एकाउण्टमार्फत मंगलबार उक्त भिडिओ सार्वजनिक गरेको बताईएको छ।

तस्वीर कपीराइट REUTERS
Image caption हत्याको विरोधमा मानिसहरु राजधानीका सडकमा उत्रिएका छन्

२२ मिनेट लामो उक्त भिडिओमा भग्नावशेषबीच बन्दुक देखाएर कसासबहलाई हिँड्न लगाईएको देखिन्छ।

पथभ्रष्ट

बीबीसीका सुरक्षा संवाददाता फ्र्यांक गार्डनर भन्छन्, इस्लामिक स्टेटको नियोजित क्रुरतापूर्ण गतिविधिबाट अन्तर्राष्ट्रिय जगत पहिल्यै स्तब्ध भईसकेको पृष्ठभूमिमा पछिल्लो भिडिओ विशेष गरी जोर्डन र खाडी मुलुकका अरबहरुलाई लक्षित गरिएको देखिन्छ।

जोर्डनको सरकारी टेलिभिजनका अनुसार, २६ वर्षीय कसासबह अपरहणमा परेयतानै जोर्डन सरकारले उनको रिहाईका लागि प्रयास गर्दै आएको थियो।

जोर्डन सरकारले कसासबहको हत्याको बदला लिने जनाएको छ।

राजा अब्दुल्लाहले इस्लामिक स्टेट पथभ्रष्ट आपराधिक समूह भएको टिप्पणी गरेका छन्।

इस्लामिक स्टेट लडाकुविरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनमा रहेको जोर्डनले कसासबहको रिहाईका निम्ति उक्त समूहका एकजना महिला आक्रमणकारीलाई छोड्न सकिने सम्झौता गर्ने प्रयास गर्दै आएको बताईन्छ।