संविधानसभाको बैठक रोकिन्न: सभाध्यक्ष

  • 4 फेब्रुअरी 2015
तस्वीर कपीराइट bbc
Image caption रोस्ट्रम घेराउका कारण प्रस्ताव अघि बढ्न नसकेपछि सभाध्यक्षले आफै प्रस्ताव समिति गठन गरेका थिए

विहीबार बोलाइएको संविधानसभाको बैठकमा विपक्षी मोर्चा सहभागी नभए पनि बैठक नरोकिने सभाध्यक्ष सुवास नेम्वाङले बताएका छन्।

आफुहरुले बिरोध गर्दा गर्दै पनि संविधानसभा प्रक्रियामा गएको भन्दै विपक्षी मोर्चाले सो बैठक बहिस्कार गर्ने निर्णय गरेको छ।

संविधानका विवादित विषयमा प्रश्नावली बनाउन पाँच दिनको कार्यावधी दिएको प्रस्ताव निर्माण समितिले थप समय मागे पछि समय थप्नका लागि उक्त बैठक बोलाईएको बताइएको छ।

पछिल्लो राजनीतिक तनावबीच एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधानसभाको बैठक बहिस्कार गर्ने निर्णय गरेको यो पहिलो घटना हो।

औचित्य

आफ्नो सहमति बिना प्रस्ताव निर्माण समिति गठन भएको भन्दै संविधानसभा बैठकमा जानुको औचित्य नभएको निष्कर्ष निकाल्दै बैठक बहिस्कार गर्ने निर्णय गरेको एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताए।

उनले भने "त्यहाँ रोष्टम घेर्नु नारा लगाउनु के अर्थ रह्यो र? प्रकारान्तरले उनीहरुको प्रस्तावलाई पास गर्ने मात्र बाटो हुने भएकोले हामीले बैठकमा नजाने निर्णय गरेका हौं।"

प्रस्ताव निर्माण समितिको गठन भए यता पहिलोपटक संविधान सभाको पूर्ण बैठक बस्न लागेको हो।

यस भन्दा अघिको पूर्ण बैठकमा रोष्टम घेराउ गर्दै आएको विपक्षी मोर्चा उक्त बैठकमा सहभागी नभए पनि बैठक नरोकिने सभाअध्यक्ष सुवास नेम्वाङले बताए।

उनले भने "भोलिको बैठक त त्यही प्रस्ताव समितिको समय बढाउने औपचारिकताका लागि हो, त्यो बैठक रहन्छ।"

माग

विहीबारको बैठक प्रस्ताव निर्माण समितिको समय बढाउने बिषयमा मात्र केन्द्रित हुने बताइएको छ।

पाँच दिने समय सिमा दिएको उक्त समितिको समयावधी बुधबार सकिएको र प्रश्न बनाउने काम अझै बाँकी रहेको भन्दै थप पाँच दिनको समयावधीको माग गरिएको समितिका सदस्य राधेश्याम अधिकारीले बताए।

उनले भने "उपसमितिले पनि अनुरोध गर्यो, मुल समितिमा पनि त्यो प्रस्तावमा छलफल पनि हुनु पर्यो नि। त्यसैले हामीले समय थपको माग गरेका हौं।"

समितिका अनुसार मुख्य विवादित विषय राज्य पुनःसंरचना र शासकीय स्वरुपबारे अझै प्रश्नावली बनेको छैन। अन्य ६ विषयमा भने प्रश्नावली बनिसकेको जनाइएको छ ।

कूल ७३ सदस्य रहने सो समितिमा सुरुवातमा ४९ जना सदस्यको नाम राखिएकोमा राप्रपा नेपालले पनि आफ्ना कुराहरु नसुनिएको भन्दै बहिस्कार गरि सकेको छ।

यद्यपी समितिका सदस्यहरुले भने विगत देखि नै राख्दै आएका सबैका असहमतिहरुलाई समेटेरै आफुहरुले प्रश्नावली निर्माण गरिरहेको बताएका छन्।