ताइवानमा विमान दुर्घटना,१२ को मृत्यु

  • 4 फेब्रुअरी 2015
plane crash तस्वीर कपीराइट AFP
Image caption उद्धारकर्ताहरुले अझै पनि विमानमा फसिरहेका मानिसहरुलाई निकाल्ने कोसिस गरिरहेका छन्

ताइवानमा ट्रान्सएसिया एयरवेजको विमान राजधानी ताइपाइ नजिकैको एक नदीमा दुर्घटनाग्रस्त हुंदा कम्तीमा १२ जनाको ज्यान गएको छ।

आन्तरिक उडानमा रहेको उक्त विमानमा ५८ जना मानिस सवार थिए।

तीमध्ये ५३ जना यात्रु र अन्य चालक दलका सदस्य भएको ठानिएको छ।

विमान अहिले किलुंग नदीमा आधा गाडिएको अवस्थामा छ।

उद्धारकर्ताहरुले विमानको भाग काटि त्यसभित्र फसिरहेका मानिसहरुको उद्धार गर्ने कोसिस गरिरहेका छन्।

ताइवानी अधिकारीहरुले १६ जना घाइते भएको जनाएका छन्।

अन्य ३० जनाको अवस्था भने अझै थाहा हुन सकेको छैन।

एटीआर ७२ टर्बो प्रोप विमान ताइपेइको सोङ्गसान विमानस्थालबाट किनमेन द्वीपका लागि उड्ने वित्तिकै दुर्घटनामा परेको थियो।

विमान दुर्घटना हुने बेला सडकमा गुडिरहेका कारबाट खिचिएका भिडियोहरुमा उक्त विमानले एउटा ट्याक्सीलाई ठक्कर दिएर पुलमा अड्किएको र त्यसपछि नदीमा खसेको देखिएको छ।

गत वर्ष जुलाइमा ट्रान्सएसिया विमानसेवाकै विमान दुर्घटनामा ४८ जना मानिसले ज्यान गुमाएका थिए।