विपक्षी मोर्चाका नेताबीचको मतभेद

  • 5 फेब्रुअरी 2015
तस्वीर कपीराइट Balkrishna Thapa
Image caption विपक्षीले बहिस्कार गर्ने भने पनि संविधान सभाको बैठक डाकिएको छ

विहिबार बस्ने संविधानसभाको बैठक बहिस्कार गरेर आन्दोलन गर्न तम्सिएका एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाभित्रै संविधानका महत्वपुर्ण मुद्दाहरुमा फरक धारणाहरु देखिन थालेका छन्।

तर संविधान निर्माणबारे दृष्टिकोणहरु भिन्न भए पनि मोर्चा एक भएरै अघि बढ्ने एकीकृत माओवादीका एकजना नेताले बताएका छन्।

संविधान निर्माण गर्ने भनिएको माघ ८ कै दिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संघीयताको विषयलाई पछि मिलाउने गरी सहमति गर्न ल्याएको प्रस्तावलाई एकीकृत माओवादीले अस्वीकार गरीदिएको थियो।

त्यसको केही दिनपछि एमाओवादी नेता बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो प्रस्ताव गच्छदार मार्फत राखेको आरोप लगाए।

आरोप

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गच्छदारलाई कांग्रेस निकट नेताको रुपमा चित्रित गरे।

उनी भन्छन्, "गच्छेदार कांग्रेस पृष्ठभूमिको मान्छे थियो कांग्रेसको प्रस्ताव राम्रो लाग्यो होला। कांग्रेस एमालेले त्यो प्रस्ताव त ल्याइरहेको थियो नि त्यहि प्रस्ताव गच्छेदारको मुखबाट भन्न लगाएको हो।"

यसरी आरोप लगाउने तराई केन्द्रित दलका नेताहरुलाई मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने तराईको मुद्दा छोडेको आरोप लगाउदै आएका छन्।

उनीहरुले एक मधेस प्रदेशको मुद्दा छोडेको तर आफु त्यसमा दृढ रहेको यादवले बताउदै आएका छन्।

दृष्टिकोण

पहिचान र राज्य पुन संरचनाको विषयमा पनि मोर्चाका दलहरुबीच फरक-फरक दृष्टिकोण छ।

तर सबै दलहरुका मुद्दा एउटै भएको एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले बताए।

उनी भन्छन् "हामी एउटै प्रकारको नारा बनाएका छौं एकै प्रकारको मुद्दा बनाएका छौं।"

तर वहुपहिचानको अवधारणाले मोर्चा भित्रकै एकल पहिचानवादी घटकहरुलाई चिढ्याउने कतिपयको बुझाई छ।

संविधानसभा विघटन हुनु पर्ने माग राख्दै आएको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी समेत मोर्चामा आवद्ध भएकोले संविधानसभामा रहेका दलहरुले उसको मागमा समेत लचिलो हुनु पर्ने हुँदा ३० दलीय मोर्चामा जटिलताहरु थपिदै जान सक्ने विश्लेषण पनि गरीएको छ।