अतिवादी त्रासको मारमा पाकिस्तानी संगीत

  • 7 फेब्रुअरी 2015

सुरक्षा चासोका कारण पाकिस्तानमा हुने बृहत खुल्ला सांगीतिक कार्यक्रमहरुमा रोक लगाइएको छ र केहीले त सबै संगीत गैरइस्लामिक भएको समेत भनेका छन्।

के पाकिस्तानमा प्रत्यक्ष सांगीतिक कार्यक्रमहरु हराउन थालेका हुन्?

भय

आजकाल राजधानी इस्लामावादस्थित शकरपरियन कार्यक्रमस्थल प्राय: खाली नै हुनेगर्छ।

त्यहां कुनै बेला प्रत्यक्ष सांगीतिक कार्यक्रमको निकै ठूलो रमझम हुने गर्थ्यो।

अतिवादीहरुको आक्रमणको भयले अहिले देशको सांगीतिक स्थिति कहाँ पुगेको छ भन्ने झलक त्यही दृश्यले दिएको छ।

संगीतकर्मीहरुका अनुसार जीवीकोपार्जनका लागि उनीहरु संगीत छाडेर अभिनय वा विज्ञापन क्षेत्रतिर लाग्न बाध्य भएका छन्।

विश्वविद्यालयहरुमा कट्टरपन्थीहरुले संगीतमा कडा प्रतिवन्धका लागि जोड दिइरहेका छन्।

पाकिस्तानमा सांगीतिक कार्यक्रमहरु थोरै मानिसको जमघट हुने केही व्यापारिक थलोहरुमै सीमित हुन थालेका छन्।

पाकिस्तानमा संगीतकर्मी, सांगीतिक सामाग्रीका पसलहरु र त्यस्ता कार्यक्रम हुने स्थानहरु विद्रोहीहरुको निशानामा पर्दै आएका छन्।

पछिल्ला पाँच वर्षमा संगीतका क्यासेट तथा भिडियो पाइने १० भन्दा बढी पसलहरु र संगीत प्रार्थनाको हिस्सा रहने तीन सुफी धार्मिकस्थलहरुमा आक्रमण भएका थिए।

Image caption उदाउंदा संगीतकार उजेयर जसवालले ‘सबैजना डराउने हुँदा’ पाकिस्तानमा कुनै कार्यक्रम गर्न आफूलाई निकै कठिन भएको बताए।

बीबीसीका उर्दु सम्पादक आमिर खानले भने, “अघोषित त्रासका कारण परिस्थिति झन् भयावह बनाएको छ। सरकारले त्यस्ता कार्यक्रमका लागि अनुमति दिए पनि आफूहरु जहिलेपनि अतिवादीहरुको घातक हमलाको जोखिममा रहेको संगीतकर्मीहरु ठान्छन् ।”

इन्टरनेटमाथिका केही प्रतिवन्धका कारण संगीतकर्ममा लाग्न चाहनेहरुका लागि अवस्था थप नाजुक बनेको देखिन्छ।

नाजुक

सन् २०१२ देखि यु-ट्यूब बन्द गरिएको छ र सामाजिक सञ्जालमाथि पनि कडा बन्देजहरु लगाइएको छ। जसले गर्दा ती संगीतकर्मीहरुलाई इन्टरनेट पनि भरपर्दो विकल्प हुन सकेको छैन।

स्थापित कलाकारहरुकै लागि पनि आफ्नो देशमा यस्ता कार्यक्रम गर्न कठिनाइ बढ्दै गइरहेको छ।

चिरपरिचित गायक आतिफ फसलम वर्षमा देशभरमा झन्डै ३० वटा छुट्टाछुट्टै ठाउँमा हुने कार्यक्रमहरुमा व्यस्त रहन्थे। अहिले उनको सांगीतिक समूहले वर्षमा जम्मा दुईवटा कार्यक्रमहरुमात्रै गर्ने गर्छ।

उदाउँदा संगीतकर्मी उजायर जसवालले बीबीसी उर्दु संवाददाता नोशिन अब्बाससंग भने, “अतिवादको कारणले खुल्लमखुल्ला ठूला कार्यक्रम र कन्सर्टहरु गर्न अहिले अवस्था ठीक छैन। सबैजना भयभीत छन्।”

तर आक्रमणको यस्तो सन्त्रासले मात्रै पाकिस्तानको संगीतलाई मौन बनाएको छैन।

Image caption विद्यार्थी नेता अब्दुल मुकित भन्छन्, पढाइ र संगीतलाई मिसाउनु गैरइस्लामिक हो र निजी विश्वविद्यालयहरुले त्यसमा प्रतिवन्ध लगाउन् भन्ने उनी चाहन्छन्

धेरै ठाउँहरुमा कट्टरपन्थीहरुले संगीतमाथि संस्थागत प्रतिवन्ध नै खोजिरहेका छन्।

उनले भने, “सरकारी विश्वविद्यालयहरुमा संगीतलाई स्वीकृति छैन भने निजी शिक्षण संस्थाहरुमा पनि हुनुहुँदैन। विद्यार्थीलाई उनीहरुको पढाइसँग संगीतलाई मिसाउन प्रोत्साहित गर्नुहुँदैन। यो गैरइस्लामिक हो र यसले उनीहरुको चरित्रमा दाग लगाउँछ।”

विकल्प

यद्यपि पाकिस्तानमा एउटा स्थान त्यस्तो छ जहां संगीत मौलाइरहेको छ: त्यो हो निजी टिभी च्यानलहरु।

त्यस्तो सुरुवात कोकाकोलाले प्रायोजन गरेको कोक टिभी सो नामक कार्यक्रमबाट भएको हो।

उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले स्टुडियोमै रेकर्ड गराएका गीतहरु प्रसारण गरिन्छन्।

सातौं वर्षमा उत्तिकै शानदार तरिकाले चलिरहेको उक्त कार्यक्रमले अन्य टिभी च्यानलहरु र प्रायोजनका लागि चिरपरिचित ब्र्यान्डहरुलाई आकर्षित गरिरहेको छ।

कम्तीमा अहिलेका लागि टिभी स्टुडियोको सुरक्षित वातावरणले पाकिस्तानको प्रत्यक्ष सांगीतिक कार्यक्रमहरुलाई जीवितै राखिरहेको छ।