बन्दविरुद्ध व्यवसायीहरुले अभियान थाल्ने

  • 10 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption आफ्नै प्रतिबद्धता विपरीत दलहरुले बन्द आह्वान गर्दै आएका छन्

नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा बन्द हडतालका बेला पनि निर्बाध रुपमा व्यवसाय सञ्चालन गर्नका निम्ति अभियान थाल्ने निर्णय गरेको छ।

निजी क्षेत्रको छाता संस्था महासंघले सञ्चालन गरिने उद्योग र व्यवसायलाई सरकारले सुरक्षा दिनुपर्ने माग राखेको छ।

विभिन्न समयमा भएका बन्द हडतालबाट आजित भएको भन्दै त्यस्तो अभियान थाल्न लागिएको उनीहरुको भनाई छ।

बेला-बेला हुने बन्द हडतालले लगानीको वातावरण बिग्रिदै गएको देशभरमा व्यवसायीहरुको भेलामा गुनासो आएपछि निर्बाध काम गर्न पाउने अधिकारको खोजी गरिएको उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले बताए।

अधिकार

उनले भने, “बन्दको प्रक्रिया अरु नै हुन्छ, सडक बन्द होईन, विरोध गर्न पाईन्छ, अरु विरोध गर्नुहोस्, काम गरेर खान पाउने हाम्रो संवैधानिक अधिकार हो, हाम्रो त्यो भनाई हो।”

केही समययता दलहरुले आफ्ना विरोधका कार्यक्रम गर्दा बन्द हडताललाई तालिकामा नपारेकोलाई सकारात्मक कदमको रुपमा लिएका व्यवसायीहरुले यसको निरन्तरका लागि प्रधानमन्त्रीदेखि विपक्षी दलका नेताहरुलाई भेटेर छलफल गर्ने पाण्डेले बताए।

तस्वीर कपीराइट Krishna Poudel
Image caption बन्दका क्रममा हुने आगजनी तथा तोडफोडले करोडौ रुपैयाँ क्षति हुने गरेको बताईन्छ

उनले भने, “लगानीको वातावरण सुरक्षित गर्नु हाम्रो उद्देश्य हो, अभियानलाई लिएर सरकार र विपक्षी सबैसँग कुरा गर्छौँ।”

अभियान

बन्दको विरोध गर्ने नभई उद्योग व्यवसाय सञ्चालनलाई अधिकारका रुपमा स्थापित गरिने आफ्नो अभियानको लक्ष्य रहेको उनले बताए।

आईतबार बस्ने महासंघको पदाधिकारी बैठकले त्यसबारे ठोस कार्यक्रम बनाउने बताईएको छ।

यसअघि पनि व्यवसायीहरुले बन्दको अवज्ञा गर्नुपर्नेमा जोड दिदै आएका थिए।