‘युरोप-अमेरिकाबीचको गठबन्धन सुदृढ हुँदै’

  • 10 फेब्रुअरी 2015
तस्वीर कपीराइट AP
Image caption दुवै नेताले युक्रेनी संकटका लागि रुसलाई दोषी ठहर्याएका छन्

अमेरिकी राष्ट्रपति बराक ओबामा र जर्मन चान्सलर एंगेला मर्केलले युक्रेनमा जारी रुसी हस्तक्षेपले युरोप र अमेरिकाबीचको एकतालाई थप मजबुत बनाउने काम गरेको टिप्पणी गरेका छन्।

युक्रेनलाई हतियार उपलब्ध गराउनुपर्ने अमेरिकी दबाबबारे मतभेद रहिआएका बेला ऐक्यबद्धताको संकेत देखिएको हो।

मर्केलको नेतृत्वमा शान्ति वार्तासम्बन्धी जारी प्रयासको नतिजाको पर्खाईमा ओबामा छन्।

उक्त प्रयास विफल भए ओबामाले आवश्यक कदम चाल्ने बताएका छन्, जसअन्तर्गत अमेरिकाले रुस समर्थित विद्रोहीविरुद्ध लड्नका निम्ति युक्रेनलाई हतियार उपलब्ध गराउन सक्छ।

गठबन्धन

उक्त कदमबाट स्थिति झन भड्किन सक्ने मर्केललाई डर छ।

तर ओबामाले जुनसुकै निर्णय लिएपनि युरोप र अमेरिकाबीचको गठबन्धन कायम रहने मर्केलको भनाई छ।

रुसले युक्रेनी सीमाको उल्लंघन गरेको दुवैको आरोप छ।

तस्वीर कपीराइट .
Image caption बराक ओबामाले युक्रेनलाई घातक हतियार दिने विषयमा विचार भईरहेको बताएका छन्

भौगोलिक अखण्डातासम्बन्धी सिद्धान्तको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको उनीहरुको भनाई थियो।

उल्लंघन

युरोपमा शान्ति कायम राख्नका निम्ति त्यो आवश्यक रहेको मर्केलले टिप्पणी गरिन्।

पूर्वी युक्रेनमा रुस समर्थित विद्रोही र युक्रेनी सेनाबीच संघर्ष चर्किदै गएका बेला ओबामा र मर्केलको भनाई सार्वजनिक भएको हो।

ओबामाले मिन्स्क शान्ति संझौताको रुसले उल्लंघन गरेको आरोप लगाए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी संकटका निम्ति पश्चिमाहरु जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन्।