रासायनिक मल कारखाना स्थापनाको तयारी शुरु

  • 11 फेब्रुअरी 2015
धान खेत तस्वीर कपीराइट bbc
Image caption आफ्नो मल कारखाना नहुँदा नेपालमा धान, गहुँ जस्ता बालीको निम्ति विदेशबाट रासायनिक मल आयात गर्नु पर्ने बाध्यता छ

सरकारले निजी-सार्वजनिक साझेदारीको माध्यमबाट नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।

निर्माणका लागि ४ वटा कम्पनीलाई संभाव्यता अध्ययनको प्रस्तावका लागि आह्वान गरिएको लगानी बोर्डले जनाएको छ।

रासायनिक मलका लागि पूर्णरुपमा विदेशमा आश्रित रहेको नेपालमा सो कारखाना स्थापना गरिए आधा भन्दा धेरैले मल आयात घट्ने र देशलाई निकै फाइदा पुग्ने बताईएको छ।

तथ्याङ्कहरुले नेपालमा हाल पनि दुई तिहाई मानिसहरु कृषि पेशामा संलग्न रहेको देखाउँछ।

अनुदान

प्राङ्गारिक मलका अतिरिक्त उनीहरुले प्रयोग गर्ने गरेको रासायनिक मल सरकारले विदेशबाट आयात गरेर ३० देखि ४० प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराउँदै आएको छ।

तर खेतीबालीको समयमा रासायनिक मल नपाएको गुनासो कृषकहरुले गर्ने गरेका छन्।

यस्तो समस्याबाट मुक्ति पाउने गरी देशमै रासायनिक मल कारखाना खोल्ने प्रक्रियाअघि बढाईएको लगानी बोर्डका बाह्य मामिला अधिकारी घनश्याम ओझाले बताए।

उनले भने, “चारवटा कम्पनी छन्, उनीहरुले ६० दिनभित्र उनीहरुले प्रस्ताव बुझाउँछन् र त्यसको आधारमा एउटा कम्पनीलाई अध्ययनको जिम्मेवारी दिईने छ।”

हाल नेपालमा आयात गरिने रासायनिक मलमा ६० प्रतिशत युरिया रहेकोले उक्त कारखानबाट युरिया मल नै उत्पादन गर्ने लक्ष्य रहेको बताईएको छ।

उत्पादन

ओझाले भने, “दैनिक एक हजार मेट्रीक टन उत्पादन गर्ने कारखानाको हाम्रो सोच छ, त्यसले युरियामा सरकारले दिनुपर्ने १० अर्ब अनुदान रोकिन्छ।”

रासायनिक मल उत्पादनका लागि चुनढुंगा पाइने जिल्लाहरु दाङ मकवानपुर र उदयपुरलाई लक्षित गरिने योजना रहेको बताईएको छ।

तर कम्पनीहरुले गर्ने अध्यनपछि मात्र उद्योग स्थापना हुने जिल्ला निर्धारण हुने बताईएको छ।

हालको योजना अनुसार काम भएमा नेपालका कृषकहरुले बढीमा ४ वर्षभित्र नेपालमै उत्पादन भएको युरिया मल पाउने बताईएको छ।

कारखाना स्थापनापछि पनि डिएपी र पोटास भने विदेशबाटै आयात गर्नुपर्ने हुन्छ।