फोहोर व्यवस्थापन एक वर्षभित्र: लगानी बोर्ड

  • 12 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption फोहोरको उचित व्यवस्थापन हुन नसक्दा समेत समस्या थपिएको छ

काठमाण्डू उपत्यकाको फोहोरबाट बिजुली, मल र ग्याँस उत्पादन गर्ने प्राथमिकतासहित फोहोर व्यवस्थापनको लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न दुईवटा कम्पनीलाई जिम्मा दिएको लगानी बोर्डले एक वर्षमै काम सुरु गर्न सकिने जनाएको छ।

पूर्वनिर्धारित योजना अनुसार कम्पनीले ६ महिनाभित्र बुझाउनुपर्ने प्रतिवेदनले फोहोर व्यवस्थापन परियोजना सम्भाव्य देखाएमा परियोजना विकास सम्झौता पीडीए गरेर काम अघि बढाईने बताईएको छ।

बोलपत्र आह्वान गरेको ५ वर्षपछि लगानी बोर्डले बुधबार काठमाण्डू उपत्यका एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको डीपीआरको जिम्मा नेपाली समेत साझेदार रहेको फिनल्याण्ड र भारतका दुई कम्पनीलाई दिएको हो।

उक्त कम्पनीहरुले ६ महिनाभित्र सम्पन्न गर्ने गरी अध्ययन सुरु गरेको ठूला आयोजनाहरुको मात्रै काम गर्ने सरकारी निकाय लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए।

प्राथमिकता

प्रतिवेदनबाट नेपाल सरकारलाई फाइदा हुने देखिए परियोजना विकास सम्झौता गरेर काम शुरु गरिने उनले बताए।

उनले भने, “बिजुली, मल र ग्याँसहरु उत्पादनका लागि प्राथमिकता दिएको हो, डीपीआर ६ महिनामै तयार भयो भने एक वर्षमै काम सुरु गर्न हस्ताक्षर गर्छौँ।”

तर विशेष परिस्थिति श्रृजना भएमा प्रतिवेदन बुझाउन र काम सुरु गर्न केही ढिला हुन सक्ने पन्तले बताए।

व्यवस्थापन

लागतको हकमा फोहोर व्यवस्थापनका लागि पाँच वर्षअघि फिनल्याण्डको एउटा कम्पनीले ६ अर्ब रुपैयाँको अनुमानित लागत पेश गरेको तर अब त्यसमा परिवर्तन हुन सक्ने उनको भनाई छ।

“उनीहरुले कुन कुन प्रविधि प्रयोग गर्छन्, त्यसमा पनि भर पर्ने कुरो हो, त्यसैले डीपीआर सम्पन्न भएपछि लागतको पनि टुङ्गो लाग्छ,” पन्तले भने।

डीपीआरअन्तर्गत सम्बन्धित कम्पनीले परियोजनाको प्राविधिक, कानुनी, वित्तीय तथा वातावरणीय पक्षको अध्ययन तथा मुल्याङ्कन गर्ने बताईएको छ।