'सहमतिको प्रत्याभूतिपछि मात्रै वार्ता'

  • 12 फेब्रुअरी 2015
prachanda तस्वीर कपीराइट Reuters
Image caption प्रक्रियाको थालनी भएदेखिनै एकीकृत माओवादी नेतृत्वको मोर्चाले आन्दोलन सुरु गरेको छ

दलहरुबीच सहमतिका लागि समय उपलब्ध गराउन बिहीबारदेखि संविधानसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिए पनि त्यसकै आधारमा मात्र वार्तामा नबस्ने प्रमुख विपक्षी एकीकृत माओवादीले जनाएको छ।

प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदनपछि गरिएको संविधानसभा स्थगनलाई सकारात्मक बताउंदै उसले वार्ताका लागि सहमतिको आधारमा संविधान जारी गर्न तयार रहेको प्रतिवद्धता प्रधानमन्त्रीबाट आउनुपर्ने माग गरेको छ।

विपक्षी मोर्चाका केही नेताहरुले सार्वजनिक रुपमा गरिरहेको संविधान लेखनको प्रक्रिया केही समय स्थगन गर्नुपर्ने माग सम्बोधन गरिएको जस्तै देखिने गरी बिहीबार संविधानसभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको थियो।

प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदनपछि संविधानसभाले आफ्नो प्रक्रिया तत्कालका लागि रोके लगत्तै एमाओवादीले उक्त निर्णय अवरुद्ध वार्ता प्रक्रिया सुरु गर्न पर्याप्त नभएको प्रतिक्रिया दिएको हो।

प्रतिवद्ध

अध्यक्ष प्रचण्डलाई उदृत गर्दे उनका स्वकीय सचिव एवं एकीकृत माओवादीका केन्द्रीय सदस्य चुडामणी खडकाले बीबीसीसँग भने,"यो एक स्तरको सकारात्मक पहल हो, यो पूर्ण छैन, उहाँहरुले सहमतिको आधारमा संविधान जारी गर्न प्रतिबद्ध छौं भनेर भन्नु पर्छ अनि मात्र वार्तामा बस्न तयार छौं भनेर अध्यक्षले भन्नु

भएको छ।"

संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगन गरिनु अघि बिहीबार एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले नागरिक समाजका केही प्रतिनिधिको पहलमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँग टेलिफोनमा कुराकानी गरेका थिए।

त्यसक्रममा लिखित रुपमा नै सहमतिमा संविधान जारी गर्नुपर्ने प्रतिवद्धता सत्तापक्षले गर्नुपर्ने अडान प्रचण्डले राखेको उनका स्वकीय सचिव खडकाले बताए।

उनले भने, "यो प्रतिवद्धता आएपछि मात्र वातावरण बन्छ र हामी वार्तामा आउन तयार छौं भनेर प्रधानमन्त्री र एमाले अध्यक्षलाई यही कुरा भन्नु भएको हो।"

संविधानसभाको प्रक्रिया स्थगनसँगै विपक्षी मोर्चा वार्तामा आउने सत्तापक्षीय दलहरुले विश्वास लिएका छन्।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले एकीकृत माओवादीले अप्ठ्यारो शर्त राखेको बताए।

उनले भने, 'यो अलि अप्ठ्यारो कुरा भयो, हरेक कुरामा सहमति नहुन पनि सक्छ, वार्तामा बसिसकेपछि हरेक कुरामा सहमति हुन्छ भनेर भन्नु उपयुक्त हुँदैन।'

सहमतीय प्रणालीलाई बेवास्ता गर्दै संविधानसभा बहुमतीय प्रक्रियामा अघि बढेको भन्दै विपक्षी मोर्चाले संविधानसभाको बैठक लगतार बहिष्कार गरिरहेका छन्।

दुवै पक्ष बीचको संवादहीनताका कारण संविधान जारी गर्ने नयाँ मिति अझै तय हुनसकेको छैन्।