आफ्ना नागरिक फिर्ता ल्याउने अल-सिसीको प्रस्ताव

  • 13 फेब्रुअरी 2015
तस्वीर कपीराइट Getty
Image caption इजिप्टमा पर्याप्त अवसर नपाएको भन्दै त्यहाँका हजारौं नागरिक लिबियामा बसिरहेका छन्

इजिप्टका राष्ट्रपति अब्दुल फत्तह अल-सीसीले लिबियामा रहेका इजिप्टका नागरिकहरुलाई स्वदेश फर्कन हवाइ उद्धार उपलब्ध गराउने बताएका छन्।

लिबियामा रहेका जिहादीहरुले २१ जना कोप्टीक ईशाइहरुलाई बन्धक बनाइएको भनि तिनका तस्वीरहरु सार्वजनिक गरेपछि राष्ट्रपति अल-सीसीले त्यस्तो हवाइ उद्धारको प्रस्ताव गरेका हुन्।  

लिबियामा इजिप्टका हजारौं नागरिकहरुले काम गर्ने गर्छन्।

इस्लामी उग्रवादीहरुले गरेका श्रृंखलाबद्ध आक्रमण र अपहरणका घटनाहरुका माझ इजिप्ट सरकारले लिबिया नजान आह्वान गरेको भएता पनि देशमा अवसर नदेखेर लिबिया आएका इजिप्सियनहरु, त्यहीं नै बसिरहेका छन्।

आरोप

कायरोमा, आइएसले बन्धक बनाएका ति २१ जना कोप्टीक इसाईहरुका परिवारजनले तिनको रिहाइका लागि राष्ट्रपति अल सिसीले पर्याप्त प्रयास नगरेको आरोप लगाएका छन्।

आइएसको अंग्रेजी भाषाको पत्रिका दाबीकमा ति बन्धकहरुलाई कोप्टीक आक्रमणकारीहरु भनि तस्वीरहरु प्रकाशित भएपछि ती परिवारजनको आक्रोश झनै भड्किएको छ।

ती तस्वीरहरुमा कोप्टीक ईशाइ बन्दीहरुलाई सुन्तला रंगको लुगा लगाएर टाउको झुकाउन लगाई समुद्री तिरमा हिंडाइएको र तिनीहरुलाई पछाडीबाट कालो पहिरनमा रहेका मुकुन्डोधारीले समातिरहेको दृश्य देखिन्छ।

आइएसले तिनीहरुलाई इजिप्टमा कोप्टीक ईशाइहरुले मुसलमान महिलाहरुलाई अपहरण गरेको र यातना दिइएको भन्दै बदला स्वरुप बन्दी बनाइएको जनाएको छ।

ती तस्वीरहरुबाट आइएसले लिबियामा कसरी आफ्नो प्रभाव विस्तार गरिरहेको छ भन्ने बुझ्न सकिन्छ।

त्यहां तिनीहरुले विभिन्न नगरहरुलाई कब्जामा लिएका छन् भने गत महिना राजधानी त्रिपोलीमा रहेको एउटा ठूलो होटेलमा दुस्साहसपूर्ण आक्रमण समेत गरेका थिए।