प्रचण्डको चेतावनीप्रति मोर्चा भित्रै असहमति

  • 13 फेब्रुअरी 2015
तस्वीर कपीराइट PMO
Image caption झन्डै एक महिना यता सत्तापक्ष र विपक्षी दलहरु विच सम्वादहिनताको अवस्था कायम छ

सहमतीय आधारमा संविधान निर्माण गर्न सत्तापक्षीय दलहरु तयार नभए समानान्तर सरकार र संविधानसभासम्म गठन गर्न सकिने भनि एकीकृत माओवादी अध्यक्ष प्रचण्डले दिएको चेतावनीप्रति विपक्षी मोर्चा भित्रैबाट चर्को असन्तुष्टि व्यक्त भएको छ।

उक्त विषयमा मोर्चामा कुनै छलफल नभएको भन्दै विपक्षी घटकका केही नेताले शीर्ष तहबाट उनीहरुकै शब्दमा त्यस्तो अपरिपक्व अभिव्यक्ति आउनु गलत भएको बताएका छन्।

झन्डै एक महिना यता सत्तापक्ष र विपक्षी दलहरुबीच जारी संवादहिनताको अवस्था अन्त्य गर्ने प्रयासमा संविधानसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिए पछि प्रचण्डको त्यस्तो भनाई आएको हो।

विपक्षी मोर्चाका कतिपय दलका नेताहरुले आन्दोलन भन्दा वार्तामा जोड दिनुपर्ने बताउन थालेका छन्।

चेतावनी

बिहीबार एउटा सार्वजनिक कार्यक्रममा सतारुढ दलहरु सहमतिमा नआए समानान्तर सरकार बनाएर अन्तराष्ट्रिय समर्थन जुटाउने प्रयास गर्ने बताएका प्रचण्डले शुक्रबार नेपाली काँग्रेस र नेकपा एमाले जबरजस्ती अघि बढे समानान्तर संविधानसभा चलाउने चेतावनी दिएका छन्।

अनलाइन खबर डट कमलाई दिएको अन्तरवार्तामा, उनले सतारुढ दलहरु विगतका ऐतिहासिक सम्झौताहरुलाई सम्मान गर्दै अघि बढ्न तयार नभए आफ्नै दलकी उपसभामुख ओनसरी घर्तीको नेतृत्वमा विपक्षी मोर्चामा आवद्ध दलहरु सहभागी समानान्तर संविधानसभा गठन गर्ने बताएका हुन्।

तर तत्कालै त्यस्तो समानान्तर संरचना बनाउने पक्षमा आफूहरु नरहेको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको एउटा प्रमुख घटक मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए।

“तत्कालै समानान्तर सरकार बनाउने पक्षमा हामी छैनौं, उहाँले के कसरी भन्नुभयो त्यो उहाँको कुरा हो, हामी चाहन्छौं अहिलेकै सरकार रहोस् तर सहमतिबाट परिवर्तनकारी शक्तिलाई समेटेर संविधान निर्माण गरिनुपर्छ भन्ने पक्षमा हामी छौँ।”

असन्तुष्ट

एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र सत्तारुढ दलका शीर्ष नेताहरु बीच भएको अनौपचारिक कुराकानीका आधारमा बिहीबार विपक्षीहरुको विमतिका माझ अघि बढाइएको संविधानसभाको प्रकृया अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

वार्ताको वातावरण बनाउन छलफलहरु केन्द्रीत भइरहँदा विपक्षी मोर्चाका शीर्ष नेताले त्यस्तो अभिव्यक्ति दिन नहुने मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देब बताउँछन्।

“आन्दोलन वा जनताको बीचबाट संविधान बनाउने वा समानान्तर सरकार गठन गर्ने कुराहरु एकदमै अन्तिम बाध्यताको स्थिति हुनसक्छ, त्यो अहिले कल्पना मात्रै हो, त्यो स्तरबाट त्यस्तो कुरा अहिले बोलिरहनुपर्ने, भनिरहनुपर्ने समय होइन।”

प्रचण्डले भने जस्तो समानान्तर सरकार र संविधानसभा गठन गर्ने विषयमा ३० दलीय मोर्चा भित्र कुनै छलफल नभएको नेताहरुले बताएका छन्।

आफैँले प्रतिबद्धता जनाएको माघ ८ गतेको समयसीमामा संविधान जारी गर्न विफल भएका सत्ता पक्ष र विपक्षी दलहरु बीच त्यस यता संवादहीनताको अवस्था कायम रहेको छ।

दुवै पक्षलाई पुन वार्ताको टेबुलमा फर्काउने पहल भइरहँदा प्रचण्डको पछिल्लो चेतावनीले सत्तापक्षीय दलहरुलाई समेत थप सशंकित बनाउन सक्ने देखिन्छ।