‘सम्झौता कार्यान्वयन नभए थप प्रतिबन्ध’

  • 13 फेब्रुअरी 2015

जर्मन चान्सलर एंगेला मर्केलले पूर्वी युक्रेनबारे बेलारुसको मिन्स्कमा बिहिबार भएको सम्झौता रुसले पूर्णरुपमा कार्यान्वयन नगरे युरोपेली संघबाट उसले थप प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएकी छन्।

उनले युद्धविराम सम्झौताको पालना नगरेको खण्डमा थप प्रतिबन्धको तयारी गर्न युरोपेली नेताहरुले अधिकारीहरुलाई निर्देशन दिईसकेको बताईन्।

तस्वीर कपीराइट EPA
Image caption एंगेला मर्केल र फ्रान्स्वां ओलान्दको मध्यस्तामा मिन्स्कमा युद्धविराम सम्झौता भएको बताईएको छ

बिहिबार बेलारुसमा लम्बेतान वार्तापछि रुसी, युक्रेनी, जर्मन र फ्रेन्च नेताहरु सहमतिमा पुगेका थिए।

शनिबार मध्यरातदेखि पूर्वी युक्रेनमा युद्धविराम सम्झौता लागु हुने बताईएको छ।

हस्ताक्षर

तर दुवै पक्षले त्यसप्रति संशय व्यक्त गरेका छन्।

रुस समर्थक विद्रोहीहरुले सम्झौतामा हस्ताक्षर गरेका छन्, जसअन्तर्गत हतियार फिर्ती र बन्दी आदानप्रदान लगायतका विषय समेटिएका छन्।

तर मुख्य विषयहरुमा अझै सहमति हुन बाँकी छ।

युक्रेनी सेना र विद्रोहीबीच बिहिबार पनि लडाई जारी रह्यो।

रुस समर्थित एकजना कमाण्डरले आफ्नो फौजले लडाई नरोक्ने बताए।

झण्डै एकवर्ष लामो संघर्षमा हजारौं मानिसहरुको ज्यान गईसकेको बताईन्छ।

युक्रेनी राष्ट्रपति पेत्रो पोरोशेन्कोले बेलारुसको राजधानी मिन्स्कमा गरिएको सम्झौता कार्यान्वयन गर्न कठिन हुने बताए।

तस्वीर कपीराइट Getty
Image caption डेभाल्टसेभ शहरमा सेना र विद्रोहीबीच अझै लडाई जारी रहेको खबरहरु आईरहेका छन्

युद्धविराम सम्झौता कार्यान्वयनमा डेबाल्टसेभ शहर केन्द्रमा रहेको बताईन्छ।

निर्णायक

सरकार नियन्त्रित एउटा महत्वपूर्ण भनिएको उक्त शहरमा अहिले लडाई जारी छ।

डोनेस्त्क र लुहान्स्कको स्वसाशित क्षेत्रबारे पनि थप वार्ता हुने बताईएको छ।

मर्केलले पछिल्लो सम्झौताले आशाको किरण देखाएको बताईन्।

उनले भनिन्, “आशाको किरण देखिएको छ, न धेरै न थोरै, भनाई र व्यवहारमा समानता हुनुपर्छ।”

फ्रेन्च राष्ट्रपति फ्रान्स्वां ओलान्दले आउने घण्टाहरु ‘निर्णायक’ हुने बताए।

ह्वाईट हाउसले संभवतः महत्वपूर्ण कदम भएको भन्दै सम्झौताको स्वागत गरेको छ।

तर पूर्वी युक्रेनमा अझै लडाई जारी रहेको समाचारप्रति चिन्ता व्यक्त गरेको छ।

छुट्टै प्रसंगमा युक्रेनलाई अन्तर्राष्ट्रिय सहायता उपलब्ध गराउने प्याकेज अन्तर्गत यसवर्ष २ अर्ब डलर प्रदान गर्न आफू तयार रहेको विश्व बैंकले जनाएको छ।