युद्धविराम अघि लडाईं चर्कियो

  • 14 फेब्रुअरी 2015
तस्वीर कपीराइट AP
Image caption वितेको २४ घण्टामा आफ्ना सात सैनिक मारिएको तथा २३ घाईते भएको युक्रेनी सेनाले जनाएको छ।

निर्धारित युद्धविराम शुरु हुन केही घण्टा अघि पूर्वी यूक्रेनमा लडाईं चर्किएपछि यूक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्कोले शान्ति सम्झौता खतरामा परेको चेतावनी दिएका छन्।

विहिबार बेलारुसको मिन्स्कमा भएको शान्ति सम्झौताका विपरीत रुस झन् आक्रामक भएको पोरोशेन्कोले आरोप लगाएका छन्।

गत विहिबार बेलारुसको राजधानी मिन्स्कमा रुस, यूक्रेन, जर्मनी र फ्रान्सका नेताहरुबीच भएको वार्तापछि शनिबारबाट युद्धविराम गरिने सम्झौता गरिएको थियो।

बमबारी

रेलवे सञ्जाल भएको महत्वपूर्ण शहर डेबाल्टसेभाका स्थानिय प्रहरी कमाण्डरका अनुसार त्यहाँ रुस समर्थित विद्रोहीहरुको निरन्तर बमबारी भएको छ। साथै क्राइमियासंग सम्पर्क नियन्त्रण गर्न सकिने मारियुपोल शहरमा पनि ताजा लडाईं भएका छन्।

यूक्रेनका निम्ति अमेरिकी राजदूत ज्योफ्रे प्याटले भनेका छन् विद्रोहीहरु अब केही नेटो सदस्यहरुभन्दा हातहतियारले बढ्ता सुसज्जित पाइन्छन्।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता जेन साकीले ताजा लडाईं हुन लागेको युद्धविरामको मर्म अनुरुप पटक्कै छैन भनेकी छन्।

“यूक्रेनको सीमा संगै रहेका रुसी इकाइहरु पूर्वी यूक्रेनमा लडिरहेका रुस समर्थित फौजलाई ठूलो मात्रा सरसामाग्री आपूर्ति गर्ने तयारीमा छन्। यी घटनाक्रम यस साताको सम्झौताको मर्मको प्रष्ट विपरीत छन्,” साकीले बताइन्।

विद्रोही नियन्त्रित डोनेत्स्क शहरमा पनि शनिबार सबेरै बमबारीका आवाज सुनिए।

त्रास

यूक्रेनका लागि अमेरिकी राजदूतले डेबाल्टसेभा शहर नजिकै रुसी आर्टिलरी पुगेको देखिने भू उपग्रहबाट खिचिएको तस्वीर ट्वीटरमा हालेका छन्।

राजधानी कियभस्थित बीबीसी सम्वाददाता डेभिड स्टर्न भन्छन् युद्धविरामको समय नजिकिंदै गर्दा अब त्यो लागु नै नहुने हो कि भन्ने त्रास बढेको छ।

सेनाका प्रवक्ताले भनेका छन् शनिबार मध्येरातदेखि युद्धविराम लागु हुने भनिएको हुँदा विद्रोहीहरुले त्योभन्दा अगावै आफु नियन्त्रित क्षेत्र विस्तार गर्ने रणनीति अपनाएका छन्।

शुक्रबार पूर्वी यूक्रेनको डोनेत्स्क र लुहान्स्क क्षेत्रमा गरिएका बमबारीमा परि दर्जनौं गैरसैनिक मारिएको बताइएको छ। गैरसैनिकहरुको वस्तीमा आक्रमण गरेको भन्दै यूक्रेनी सेना र विद्रोही फौजले एक अर्काप्रति आरोप लगाएका छन्।

गत विहिबार सम्झौतामा पुगेका फ्रान्स, रुस तथा यूक्रेनका राष्ट्रपति र जर्मन चान्सलमाझ सप्ताहान्तमा पुन: फोन वार्ता हुँदैछ।

उक्त सम्झौता लागु नभए रुसले थप आर्थिक प्रतिबन्ध बेहोर्नुपर्ने यूरोपेली नेताहरुले चेतावनी दिएका छन्।

आईतबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालीन बैठक पनि बस्दैछ।

अधिकारीहरुका अनुसार लडाईं शुरु भए यता करिब साढे पाँच हजारको ज्यान गइसकेको छ। राष्ट्रसंघको अनुमानमा त्यो संख्या अझै धेरै हुन सक्छ।