डेनमार्कमा प्रहरी कारवाहीमा ‘बन्दूकधारी’ को मृत्यु

  • 15 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption डेनमार्ककी प्रधानमन्त्रीले यहुदी समुदायको रक्षा गर्नबाट नचुक्ने बताइन्

कोपेनहेगनस्थित यहुदीहरुको धार्मिक स्थल सेनागग नजिकै भएको आइतबारको गोली प्रहार तथा शनिबार त्यहाँको एक क्याफेमा भएको हमला दुवैमा जिम्मेवार ठानिएका एक व्यक्तिलाई प्रहरीले कारवाहीमा गोली हानी मारिदिएको बताएको छ।

अभिव्यक्ति स्वतन्त्रताको विषयमा बहस भइरहेको एउटा क्याफेमा शनिबार भएको आक्रमणमा एकजनाको मृत्यु तथा तीन प्रहरी घाइते भएलगत्तै आइतबार सेनागगमा दोस्रो घटना भएको थियो।

पछिल्लो घटनामा परी एक यहुदी पुरुष मारिए भने दुई प्रहरी घाइते भए।

प्रहरीका अनुसार यी दुवै घटनामा एकै व्यक्ति संलग्न रहेको भिडियो निगरानीले देखाएको छ।

अन्य कोही त्यसमा सामेल भएको विश्वास उनीहरुलाई छैन।

ती व्यक्तिको खोजतलास तीव्र पार्दै गर्दा उनलाई नोरब्रो भन्ने स्थानको रेल स्टेसन नजिकै प्रहरीले फेला पारेको थियो।

लगत्तै ती व्यक्तिले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरी उसलाई मारिदिएको बताइन्छ।

शनिबारको पहिलो गोली काण्ड लगत्तै प्रहरीले गोली हान्नेको व्यापक खोजी शुरु गरेको थियो।

चनाखो

शनिबारको घटना एक विवादास्पद स्वीडिश कार्टुनिष्ट लार्स भिल्क्सले आयोजना गरेका थिए।

उनले विगतमा पैगम्बर मोहम्मदका कार्टुन बनाएका थिए।

सो कार्यक्रममा सहभागी एक फिल्म निर्देशक मारिएको डेनिश सञ्चारमाध्यमहरुमा जनाइएको छ।

कोपेनहेगनस्थित बीबीसी सम्वाददाता माल्कोम ब्राबान्ट भन्छन्, डेनमार्कमा आतंकवादी आक्रमण होला भन्ने आशंका थुप्रै थिए।

दश वर्ष अगाडी त्यहाँको एक पत्रिकाले पैगम्बर मोहम्मदको कार्टुन प्रकाशन गरेपछि त्यसले विश्वभरका मुसलमान समुदायलाई आक्रोशित पारेको थियो।

मध्यपूर्वमा उसका दूतावासहरुमा आगजनी भएको थियो।

त्यस यता डेनमार्क आतंकवाद विरुद्ध निरन्तर चनाखो रहँदै आएको छ।

प्रधानमन्त्री हेल टोर्निङ्ग स्मिटले आइतबार डेनमार्कको निम्ति निकै उदास दिन रहेको भन्दै घटनाहरुलाई डेनमार्क विरुद्धका आतंकवादी गतिविधि भनेकी छन्।

लगत्तै उनले सेनागगको भ्रमण गरी यहुदी समुदायलाई रक्षा गर्न सबै काम गरिने बताइन्।