पूर्वी युक्रेनमा युद्धविराम सम्झौता ‘लागु’

  • 15 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रिय प्रसारणमार्फत युक्रेनी राष्ट्रपति पेत्रो पोरोशेन्कोले लडाइ रोक्न सेनालाई आदेश दिएका थिए

जर्मन चान्सलर र फ्रेन्च राष्ट्रपतिको पहलमा युक्रेन र रुस समर्थक विद्रोहीहरुबीच गत बिहिबार बेलारुसको मिन्स्कमा भएको युद्धविराम सम्झौता स्थानीय समय मध्यरातदेखि कार्यान्वयनमा आएको छ।

दुवै पक्षले मिन्स्कमा भएको सम्झौता कार्यान्वयनका लागि आ-आफ्नो फौजलाई आदेश दिएको बताएका छन्।

राष्ट्रपति पेत्रो पोरोशेन्कोले रणनीतिक शहर डेवाल्टसेभमा विद्रोहीहरुले गर्दै आएको आक्रमणविरुद्ध चेतावनी पनि दिए।

ग्रिनवीच समयअनुसार राति १० बजेदेखि युद्धविराम सम्झौता लागु भएपछि भिडन्त रोकिएको देखिएको समाचारहरुमा जनाईएको छ।

आदेश

पोरोशेन्कोले सेनालाई आदेश दिनुअघि शनिबार विद्रोही नेताहरुले युद्धविराम सम्झौताको मर्म अनुसार भिडन्त बन्द गर्न लडाकुहरुलाई आदेश दिएको बताईएको छ।

युद्धविराम सम्झौता लागु हुनु केही घण्टाअघि डेवाल्टसेभ शहर नजिकै लडाइ चर्केको थियो।

युक्रेन र पश्चिमा मुलुकहरुले पूर्वी युक्रेनका डोनेत्स्क र लुहान्स्क क्षेत्रमा सेना र हतियार पठाएर रुसले विद्रोहीहरुलाई सघाउँदै आएको आरोप लगाउने गरेका छन्।

तस्वीर कपीराइट ap
Image caption डेभाल्टसेभ शहर नजिकै छिटफुट भिडन्त भएको बताईएको छ

क्रेमलिनले उक्त आरोप ठाडै अस्वीकार गर्दै आएको छ।

‘प्रतिआतंकवादी’

कियभस्थित सैनिक मुख्यालयबाट राष्ट्रिय प्रसारणमार्फत पोरोशेन्कोले युद्धविराम सम्झौता पालना गर्नका निम्ति उनकै शब्दमा प्रतिआतंकवादी कारवाही बन्द गर्न सैनिक कमाण्डरलाई आदेश दिए।

उनले शान्तिका लागि अन्तिम मौका नगुम्ने विश्वास व्यक्त गरे।

पोरोशेन्कोले थपे, “युद्धविराम सम्झौताको सम्मान गर्नुपर्छ र हामीले त्यसको पालना गरिने अपेक्षा गरेका छौँ।”

युक्रेनले आफ्नो अन्तर्राष्ट्रिय दायित्व सधैँ पुरा गरेको र यसपटक पनि त्यो साबित गर्ने उनको भनाई थियो।