युद्धविराम विपरीत युक्रेनी शहरमा लडाइँ

  • 15 फेब्रुअरी 2015
petro तस्वीर कपीराइट BBC World Service
Image caption टेलिभिजनमार्फत सम्बोधन गर्दै युक्रेनी राष्ट्रपतिले युद्धविराम उल्लंघन भए कडा जवाफ दिने चेतावनी दिएका छन्

युद्धविराम कार्यान्वयनमा आएको १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि पूवीं युक्रेनको शहर डेबाल्टसेभा नजिकै लडाइँ जारी छ।

लडाइँ भएको उक्त क्षेत्र भ्रमण गरेका एक जना संवाददाताले सो रणनीतिक शहर आफ्नो नियन्त्रणमा लिन अझै पनि रुस समर्थित विद्रोहीहरुले प्रयास गरिरहेको बताएका छन्।

तर युक्रेनी सरकारले सामान्यतया युद्धविराम सम्झौताको पालना भएको भन्दै सन्तोष व्यक्त गरेको छ।

कम

डेबाल्टसेभामा लडाइँ भइरहेपनि गोलाबारी तथा झडपहरु युद्धविरामपूर्वको भन्दा कम रहेको बताइएको छ।

युक्रेनी सरकार र रुस समर्थित विद्रोही दुवै पक्षले शनिबार मध्यरातबाट सुरु युद्धविराम सामान्यतया पालना भएको बताएका छन्।

तर विश्लेषकहरुले अबको ४८ घण्टा निकै महत्वपूर्ण हुने बताएका छन्।

रुस, फ्रान्स र युक्रेनका राष्ट्रपति तथा जर्मनीकी चान्सलरले गत बिहीबार बेलारुसमा पछिल्लो सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

चेतावनी

युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले यदि यो सम्झौता पनि उल्लंघन भए आफूहरु अन्ततिर मुख मोडेर नबस्ने चेतावनी दिएका छन्।

अमेरिकाले पनि सम्झौता पालना नभए युक्रेनलाई हातहतियार दिन थाल्ने चेतावनी दिएको छ।

शनिबार उसले डेबाल्टसेभाको आसपास रुसले हतियार पठाएको प्रमाण आफूसंग भएको दावी गरेको थियो।

रुसले भने विद्रोहीहरुलाई हतियार उपलब्ध गराएको भन्ने आरोपहरुको खण्डन गर्दै आएको छ।

यसैबीच युरोपेली सुरक्षा समूह OSCE ले विद्रोहीहरुले उनीहरुको क्षेत्रमा आफ्ना अनुगमनकर्ताहरुलाई प्रवेश अनुमति नदिएको बताएको छ।