मोदी र सिरिसेना बीच महत्वपूर्ण सम्झौता

  • 16 फेब्रुअरी 2015
तस्वीर कपीराइट Maithripala Sirisena
Image caption श्रीलंकाले गैरसैनिक परमाणु सहयोग सम्झौता गरेको भारत पहिलो मुलुक हो।

श्रीलंकाका नयां राष्ट्रपति मैत्रीपाल सिरिसेनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको महत्वपूर्ण भेटवार्ताका क्रममा दुइपक्षबीचको सम्बन्धलाई अझ निकट तुल्याउने विषयमा छलफल गरेका छन्।

पदभार सम्हालेयता श्रीलंकाली राष्ट्रपतिले गरेको पहिलो विदेश भ्रमणका क्रममा, भारत र श्रीलंकाले व्यापार र गैरसैनिक परमाणु सहायता सम्बन्धी महत्वपूर्ण सहमतिहरुमा हस्ताक्षर गरेका छन्।

वार्ताका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकालाई भारतको सबैभन्दा नजीकको छिमेकी र मित्र भनेका छन्।

दुवै नेताहरुले चारवटा विभिन्न सहमतिहरुमा हस्ताक्षर गरेका छन् जस्मा आपसी ब्यापार बृद्धि गर्ने सम्झौताका साथै महत्वपूर्ण गैरसैनिक परमाणु सहयोग सम्बन्धी सम्झौता पनि पर्दछन्।

मेलमिलाप

दुवै नेताका बीच श्रीलंकाले देशका जातिय तामिल अल्पसंख्यकहरुसंग मेलमिलापको सम्बन्ध स्थापित गर्न गरेको प्रयासका बारेमा पनि चर्चा भएको थियो।

श्रीलंकाली तमिलहरुले सन् २००९ मा तमिल विद्रोहीहरुसंगको युद्ध अन्त्य भए यता विश्वास र राष्ट्रिय एकताको वातावरणको पुनर्स्थापना गर्नका लागि सरकारले पर्याप्त कार्य नगरेको भनी गुनासो गर्ने गरेका छन्।

आफ्नै उल्लेख्य तमिल जनसंख्या भएको भारतमा श्रीलंकाको मुद्दालाई सान्दर्भिक मान्ने गरिन्छ।

श्रीलंकाका नयाँ राष्ट्रपति मैत्रीपाल सिरिसेनाले नयांदिल्लीको भ्रमण गरेर भारतसंगको सम्बन्ध उनको प्राथमिकताको विषय रहेको संकेत गरेका छन्।

यो कुरा उनको पूर्ववर्तीको दांजोमा पूर्णत: विपरित देखिन्छ जस्ले भारतको क्षेत्रिय प्रतिद्वन्द्वी चीनसंगको निकट सम्बन्धलाई महत्व दिएका थिए।

लगानी

पूर्व राष्ट्रपति महिन्द राजपक्षको शासनकालमा चीनले टापु राष्ट्र श्रीलंकामा ऋण तथा पूर्वाधार निर्माण परियोजनाहरुमा गरी अर्बौं लगानी गरेको थियो।

गत बर्ष चीनको एउटा युद्ध जहाज र दुईवटा पनडुब्बीले कोलम्बो बन्दरगाहको यात्रा गरेका थिए जुन कुरा भारतीय अधिकारीहरुलाई चित्त बुझेको थिएन।

बुधबार स्वदेश फर्कनु अघि राष्ट्रपति सिरिसेनाले दक्षिण राज्य आन्ध्र प्रदेशस्थित तिरुपति मन्दीर र विहारमा रहेको बौद्ध धार्मिक स्थल बोधगयाको भ्रमण गर्ने पनि कार्यक्रम रहेको छ।