कांग्रेस महाधिवेशन भदौको अन्तिम साता

  • 18 फेब्रुअरी 2015
तस्वीर कपीराइट bbc
Image caption काँग्रेसमा भित्र भित्रै नेतृत्वको दाबेदारी सुरु भैसकेको देखिन्छ

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले पार्टीको तेह्रौँ महाधिवेशन भदौ २४ गते देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

यसै बर्ष सकिए पनि विधान अनुसार एक बर्ष थपिएको पार्टीको निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद आगामी असोजको पहिलो हप्ता सकिने भएकाले उक्त निर्णय लिइएको काँग्रेसले जनाएको छ।

महाधिवेशन अघि गर्नुपर्ने वडा, गाउँ, नगर, जिल्ला र क्षेत्रीय तहका अधिवेशनहरु साउन महिनाभित्र गरिसक्ने तयारी काँग्रेसको छ।

सत्तापक्षीय दलहरुले अघि बढाएको संविधान निर्माण प्रक्रिया प्रति असहमति जनाउँदै एकीकृत माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चा वार्ता प्रक्रिया छाडेर आन्दोलनमा रहेको समयमा सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको हो।

कार्यतालिका

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले आगामी भदौ २४ गतेदेखि २८ गतेसम्म काठमाडौंमा पार्टीको तेह्रौँ महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरेको हो।

महाधिवेशनअघि गर्नुपर्ने गाउँ, नगर र वडाको अधिवेशन साउनको १४ गते, क्षेत्रीय अधिवेशन २२ गते र जिल्ला अधिवेशन २६ गते गर्ने निर्णय काँग्रेसले गरेको छ।

यसअघि भएको १२ औं महाधिवेशनबाट चार बर्षका लागि निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद सकिएपछि पार्टीको विधानमा भएको व्यवस्था अनुरुप एक बर्ष थप गरिएको थियो।

सो समयावधि पनि आगामी असोज ५ गते समाप्त हुने भएपछि काँग्रेस भदौ भित्र महाधिवेशन गर्ने बाध्यात्मक अवस्थामा पुगेको नेताहरु बताउँछन्।

१२ औँ महाधिवेशनका समयमा झन्डै सवा तीन लाख रहेको पार्टीको क्रियाशील सदस्य संख्यालाई यस पटक दोब्बर बनाउने तयारी रहेको नेताहरुले बताएका छन्।

बुधवार केन्द्रीय समितिको बैठकले महाधिवेशनका लागि क्रियाशील सदस्यताको वितरण यसै महिना भित्र पूरा गरी केन्द्रमा विवरणहरु पठाउन सबै जिल्ला समितिलाई निर्देशन दिएको छ।

साथै क्रियाशील सदस्यता वितरणका बारेमा परेका उजुरीहरु छानविन गर्न केन्द्रीय सदस्य नरहरी आचार्यको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

प्रभाव

देशको सबैभन्दा ठूलो दल महाधिवेशनमा केन्द्रित हुँदा त्यसको प्रभाव हाल अवरुद्ध रहेको संविधान लेखन लगायत अन्य राजनीतिक प्रक्रियामा पर्न सक्ने ठानिएको छ।

तर पार्टीको महाधिवेशनले संविधान लेखनलाई असर नपार्ने काँग्रेस सहमहामन्त्री पुर्णबहादुर खड्का बताउँछन्।

उनले भने, “संविधान लेखनको प्राथमिकता अनुसार हामी त्यसमा लागिरहन्छौँ, काँग्रेसको कुनै पनि तहको अधिवेशनको क्रियाकलापले संविधान बनाउने कुरामा कहीँ कतै प्रभाव नपार्ने गरी हामीले कार्यतालिका तयार पारेका छौँ।”

पार्टीको अनुशासन समितिले कार्वाहीको सिफारिस गरेका व्यक्तिहरुले दिएको पुनरावलोकन निवेदन, भातृ संगठनमा देखिएका विवाद, संविधान लेखन र सरकारका गतिविधि लगायतका बिषयमा फागुन १० गते बस्ने केन्द्रीय कार्यसमितिको अर्को बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।

नेपाली काँग्रेसमा महाधिवेशनको मिति घोषणासँगै भित्र भित्रै भावी नेतृत्वको दाबेदारी पनि सुरु हुन थालेको छ।