डेबाल्ट्सेभाबाट युक्रेनी सेनाको फिर्ती

  • 18 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters

पूर्वी युक्रेनको एउटा रणनीतिक महत्वको नगर डेबाल्ट्सेभाबाट ठूलो संख्यामा युक्रेनी सैनिकहरु फिर्ता हटेका छन्।

त्यहां रुस समर्थक विद्रोहीहरुसंग युद्धविरामको घोषणा भएयता पनि ठूलो लडाईं भैरहेको छ।

टेलिभिजन दृश्यहरुमा युक्रेनी ट्यांकहरु र थकित सैनिकहरुको लश्कर देख्‍न सकिन्छ।

युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले उनका सैनिकहरु व्यवस्थित तरिकाले डेबाल्ट्सेभाबाट फर्कीरहेका बताएका छन्।

उनका अनुसार बुधबार विहानसम्ममा त्यहांका झण्डै असी प्रतिशत सैनिकहरु फर्किएका र बांकी पनि फर्कने क्रम जारी रहेको छ।

गत हप्ता युद्धविराम सहमति भएको भएपनि यातायात संयन्त्रका हिसाबले महत्वपूर्ण उक्त नगरलाई नियन्त्रणमा लिन विद्रोहीहरुसंग चर्को लडाईं चलेको थियो।

तस्वीर कपीराइट AFP

विद्रोहीहरुले सो नगरका धेरैजसो भागमा आफ्नो कब्जा रहेको दावी गरेका थिए।

बाध्य

रुसका विदेशमन्त्री, सेर्गेई लाभ्रोभले युक्रेनी सेना चारैतिरबाट घेराबन्दीमा परेपछि लडाईं छोडेर पछि हट्न बाध्य भएको बताएका छन्।

उनले आत्म समर्पण गर्ने सैनिकहरुलाई खानेकुरा र लत्ताकपडा उपलब्ध गराउन विद्रोही लडाकुहरुलाई आह्वान पनि गरेका छन्।

त्यसअघि अमेरिकी उपराष्ट्रपति जो बाइडनले रुसलाई गत हप्ता मिन्स्कमा गरिएको सहमति उलंघन गरेको आरोप लगाएका छन्।

तस्वीर कपीराइट Reuters

रुसी विदेशमन्त्रीले पत्रकारहरुसंग कुरा गर्दै शान्ति सहमतिमा हस्ताक्षर भएका बेला डेबल्ट्सेभा नगर विद्रोहीहरुको कब्जामा रहेकाले त्यहां भएको विद्रोहीहरुको हमला युद्धविरामको उलंघन नभएको बताएका छन्।

कियभमा रहेका बीबीसी सम्बाददाता डेभिड स्टर्न भन्छन्, युद्ध विराम सहमति भए पनि डेबाल्ट्सेभाभित्र तिब्र गतिमा विग्रंदै गएको अवस्था र त्यो रुस समर्थक सैन्यको पूर्ण नियन्त्रणमा जान सक्ने स्थितीले विभिन्न प्रश्नहरु उब्जाइ दिएको छ।