सोमालियाको होटलमा दुई आत्मघाती विस्फोट

  • 20 फेब्रुअरी 2015
तस्वीर कपीराइट Getty
Image caption अल सबाब समूहले मोगादिसुमा शुक्रबार भएका आत्माघाति विस्फोटनको जिम्मा लिएको छ

सोमालियाको जिहादी समुह अल सबाबले राजधानी मोगादिसुको एउटा होटलमा दुईवटा आत्मघाती बम विस्फोट गराएको छ।

उक्त विस्फोटमा दुई सांसद र शहरका उपमेयर सहित कम्तिमा १० जना मारीएको अधिकारीहरुले बताएका छन्।

शुक्रबार प्रार्थनाको समयमा भएको उक्त आक्रमणमा देशका उपप्रधानमन्त्री र दुई अन्य मन्त्रीहरु घाइते भएको जनाइएको छ।

सरकारी अधिकारीहरुले गद्दारी गरेका कारण आफूले सो हमला गरेको अलसबाबले बीबीसीलाई बताएको छ।

आत्मघाती

मोगादिसुमा रहेका बीबीसी सम्वाददाताका अनुसार एक जना हमलाकारीले शहरको केन्द्रमा रहेको होटलको प्रार्थना स्थलमा आफैँलाई विस्फोट गराएका थिए।

उक्त कोठाको सामुन्ने पार्किङ गरिएको कारमा अर्को बिस्फोटन भएको थियो।

राजनीतिज्ञहरुले बेला बेलामा भ्रमण गर्ने सेन्ट्रल होटलमा भएका ती दुई ठूला बिस्फोटपछि गोली हानाहानको अवाज सुनिएको थियो।

बीबीसी सम्वाददाता मोहमद मोलिमिउँ भन्छन, विस्फोटन भएको स्थलमा प्रहरीले घेराबन्दी गरेका छन्।

उक्त विस्फोटमा दुई सांसद र शहरका उपमेयर सहित कम्तिमा १० जना मारीएको र देशका उपप्रधानमन्त्री र दुई मन्त्रीहरु सहित ३० जना घाइते भएको जनाइएको छ।

संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त सरकार बिरुद्ध लडिरहेको अल सबाब इस्लामवादी समूहले उक्त आक्रमणको जिम्मा लिएको छ।

चेतावनी

अल कायदासँग सम्बन्ध रहेको उक्त समुह सोमालियाका प्रमुख शहरी क्षेत्रहरुबाट लगभग विस्थापित भैसकेको छ।

तर अझै पनि देशको दक्षिणमा रहेका ग्रामीण क्षेत्रहरुमा उसको नियन्त्रण रहेको छ।

विस्फोटन भएको स्थान पुगेका एक जना प्रहरी अधिकारीले रोयटर्स समाचार संस्थासँग कुरा गर्दै आक्रमणको समयमा उक्त होटलमा कयौँ मन्त्री र सांसदहरु रहेको बताए।

दिउँसोको खाना खाने समयको आसपास उक्त आक्रमण भएको थियो।

अलसबाबको सैन्य दस्ताका एक जना प्रवक्ताले सरकारी अधिकारीहरुलाई निशाना बनाउन आफूले सो आक्रमण गरेको बताएका छन्।

यसअघि उक्त समूहले सरकारी अधिकारीहरुको हत्या गर्ने चेतावनी दिएको थियो।

एक महिना अघि अल सबाबले मोगादिसुमा गाडी चलाइरहेका एक जना सांसदको हत्या गरेको थियो।