पूर्वी यूक्रेनमा भारी हतियार फिर्ता प्रकृया

  • 22 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption मिन्स्कमा युद्धविराम सम्झौता भएपनि खासगरी पूर्वी यूक्रेनमा लडाईं रोकिएको छैन

यूक्रेनले भनेको छ, देशको उत्तरी क्षेत्रस्थित द्वन्द्वग्रस्त इलाकाबाट उसले ठूला हतियारहरु फिर्ता गर्ने प्रकृया आइतबारबाट थाल्नेछ।

यो फिर्ती प्रकृया सरकार र रुस समर्थित पृथकतावादीहरु बीच अन्तर्राष्ट्रिय पहलबाट गराइएको युद्धबिरामको एक पाटो हो।

विद्रोहीहरुले मंगलबारबाट फिर्ती थालिने बताएका छन्।

बेलारुसको राजधानी मिन्स्कमा एक साता अगाडी भएको युद्धविराम सम्झौता लागु गराउने समितिमा रहेका एक वरिष्ठ रुसी जनरलले अब भारी हातहतियार फिर्ता गर्ने प्रकृया थाल्न सकिने बताए।

जनरल एलेक्ज्याण्डर लेन्तसोभले लुहान्स्क र डोनेत्स्कका विद्रोही नेताहरुले त्यस्तो प्रकृया थाल्ने आदेशमा हस्ताक्षर गरिसकेको बताएका छन्।

यो प्रकृया मार्च ७ सम्ममा पूरा हुन सक्ने उनले बताए।

साटासाट

मिन्स्क सम्झौतामा उल्लेख भए बमोजिम नै सरकारी फौज तथा विद्रोहीहरुले युद्ध बन्दी साटासाट गरेका छन्।

यूक्रेनी अधिकारीहरुका अनुसार १३९ यूक्रेनी सेनाको साटो ५२ विद्रोही बन्दी साटासाट भएका छन्।

दुवै पक्षसित अझै ठूलो संख्यामा बन्दीहरु रहेको बताइन्छ।

मिन्स्क सम्झौतामा सबै बन्दी साट्ने विषय उल्लेख थियो।

बन्दी साटासाटको खबर लडाईंग्रस्त पूर्वी यूक्रेनबाट आएको पछिल्ला सकारात्मक समाचार हुन्।

नत्र युद्धविराम घोषणा गरिएपनि त्यहाँ लडाईं जारी थियो।

शनिबार अमेरिकी विदेश मन्त्री जन केरीले विद्रोहीहरुलाई सहयोग गरेको भन्दै पश्चिमा नेताहरुले रुस विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताए।

रुसले ती आरोप अस्वीकार गर्दै आएको छ।