६ शंकास्पद फ्रान्सेलीको राहदानी जफत

  • 23 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption झन्डै ४ हजार फ्रान्सेली नागरिक इस्लामिक स्टेटमा लागेकाे ठानिएकाे छ।

फ्रान्सका अधिकारीहरुले पहिलोपटक जिहादी समूह इस्लामिक स्टेटमा आवद्ध हुन सिरिया जान लागिरहेको आरोपमा ६ जना आफ्ना नागरिकहरुको राहदानी जफत गरिएको जनाएका छन्।

आन्तरिक मामिला मन्त्री बेर्नार काझनोभले गुप्तचर निकायहरुले उनीहरु तत्कालै यात्रा गर्न लागिरहेको निष्कार्ष निकालेको बताए।

राहदानी जफत गरिएका ६ जनाको नाम खुलाइएको छैन, तर धर्म परिवर्तन गरी इस्लाम अँगालेका सो समूहमा एकजना व्यक्तिले एउटा सरकारी रसिद उपलब्ध गराएर आफूहरुको राहदानी र परिचयपत्र खोसिएको बताए।

फ्रान्सका संचार माध्यमहरुका अनुसार हाल राहदानी जफत गरिएका केही पुरुषहरुका बारेमा उनीहरुका आफन्तले हालै प्रयोगमा ल्याइएको टेलिफोन हटलाइन मार्फत जानकारी दिएका थिए भने अन्यको बारेमा प्रहरी अनुसन्धान पछि जानकारी हासिल भएको थियो।

सम्भावना

आन्तरिक मामिला मन्त्री बेर्नार काझनोभ भने, “उनीहरु ती व्यक्तिहरु हुन् जो गुप्तचर निकायहरुले प्रस्तुत गरेका बलियो कारणहरुका आधारमा सिरिया र इराक जाने क्रममा थिए। हामीलाई थाहा छ, एकदमै धेरै लगभग सयौँको संख्यमा फ्रान्सबाट गएका छन्।”

अरु ४० वटा त्यस्तै प्रकृतिका घटनाहरु माथि अनुसन्धान भइरहेको र थप राहदानीहरु जफत गर्ने सम्भावना रहेको पनि उनले बताए।

गएको नोभेम्बर महिनामा ल्याइएको आतंकवाद सम्बन्धी नयाँ कानुनको अंगका रुपमा पछिल्लो कदमलाई लिइएको छ।

हाल राहदानी र परिचयपत्र ६ महिनाका लागि जफत गरिए पनि त्यसलाई नवीकरण गर्न सकिने कानुनी व्यवस्था रहेको छ।

उक्त निर्णय अस्वीकार गर्दै उनीहरुले अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था छ।

चिन्ता

झन्डै ४ सय फ्रान्सेली नागरिकहरु इस्लामिक स्टेट विद्रोहीहरुको तर्फबाट लडिरहेको ठानिएको छ र उनीहरुको देश फिर्तीले गम्भीर खतरा उत्पन्न गराउने चिन्ता व्यक्त हुँदै आएको छ।

यसै बीच फ्रान्सले इराकमा रहेका इस्लामिक स्टेटका अखडाहरुविरुद्धको कारवाहीमा प्रयोग गर्न एउटा युद्धक विमान बहराइन पठाएको छ।

संवाददाताहरुका अनुसार हाल संयुक्त अरब इमिरेट्सबाट उडिरहेका अन्य युद्धक विमान भन्दा झन्डै आधा समय कममा उक्त विमान इराक पुग्नेछ।

अमेरिकी गठबन्धनको समर्थन गर्दै फ्रान्सले गएको सेप्टेम्बरमा इस्लामिक स्टेटविरुद्ध अपरेशन छामल संचालन गर्दै अएको छ।