'धार्मिक शिक्षामा आमूल परिवर्तनमा जोड'

  • 23 फेब्रुअरी 2015
तस्वीर कपीराइट Getty Images
Image caption अल अजहर विश्व विद्यालय सुन्नी मुस्लिमहरुका निम्ति निकै सम्मानित अध्ययन संस्था मानिन्छ

सुन्नी मुस्लिमहरुको एउटा सम्मानित शैक्षिक संस्थाका प्रमुख धर्मगुरुले मुस्लिम मुलुकहरुमा अतिवादविरुद्ध लड्नका निम्ति धार्मिक शिक्षामा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन्।

कायरोस्थित अल-अजहर विश्व विद्यालयका प्रमुख इमाम शेख अहमद अल तयीबले मुस्लिम धर्मग्रन्थ कुरान र पैगम्बर मोहम्मदको जीवनबारे गलत तरिकाले अध्ययन गरेर इस्लामको असहिष्णु व्याख्या गर्ने गरिएको बताए।

साउदी अरेबियाको मक्कामा इस्लाम र आतंकवादविरुद्धको लडाइ शीर्षकमा भईरहेको सम्मेलन धर्मका नाममा हत्या हिंसा गर्नेहरुलाई धर्मले कसरी रोक्न सक्छ भनी विषयमा केन्द्रित छ।

हजार वर्ष पुरानो इतिहास बोकेको अल-अजहर विश्व विद्यालय निकै प्रसिद्ध छ र सुन्नी मुस्लिमहरुद्वारा निकै सम्मानित छ।

परिवर्तन

उक्त विश्व विद्यालयका प्रमुख धर्मगुरु अर्थात इमाम शेख अहमद अल तयीबले सो सम्मेलनको उद्घाटनशत्रलाई संबोधन गर्दै धार्मिक शिक्षामा परिवर्तनको आवश्यकता रहेको खाँचो औल्याए।

उनले कुरान र पैगम्बर मोहम्मदले दिएका शिक्षाको “गलत व्याख्या”ले अतिवादलाई जन्म दिएको बताए।

साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजिजले “अतिवादी मुस्लिमहरु”ले मुस्लिमहरुलाई खतरा मात्र पैदा गरेको नभई विश्वभर मुस्लिमहरुकै छवि धुमिल्याइरहेको बताए।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीले आतंकवादविरुद्ध लड्नका निम्ति उत्तरी अफ्रिकी र पूर्वी एसियाली मुलुकहरुको सुरक्षा फौज हुनुपर्नेमा जोड दिए।

तस्वीर कपीराइट BBC World Service
Image caption इस्लामिक स्टेटका क्रियाकलापले इस्लामको छबिमा आँच पुगिरहेको धेरैको भनाई छ

इस्लामिक स्टेट लडाकुहरुले आफ्नो मुलुकका ईसाईहरुको हत्या गरेपछि इजिप्टेली सेनालाई सघाउनका निम्ति थुप्रै मुलुकहरुले प्रस्ताव गरेको उनको भनाई थियो।

उक्त घटनापछि इजिप्टले लिबियामा इस्लामिक स्टेट लडाकुका अखडाहरुमा हवाई आक्रमण गरेको थियो।

प्रस्ताव

उक्त हवाई आक्रमणले अरब मुलुकहरु देशभित्रै र बाहिर जिहादीहरुविरुद्ध सैन्य कारबाही गर्न इच्छुक रहेको देखाएको बताइन्छ।

सीसीले इजिप्टलाई संयुक्त अरब इमिरेट्स र जोर्डनले सैनिक सहयोगका लागि प्रस्ताव गरेको बताए।

ती दुई मुलुकहरुले इस्लामिक स्टेटविरुद्ध इराक र सिरियामा जारी अमेरिकी नेतृत्वको हवाई आक्रमणमा समेत सहभागिता जनाउँदै आएका छन्।

सीसीले सेनाका लागि इजिप्टले महत्वपूर्ण आर्थिक सहायता साउदी अरेबिया र खाडी मुलुकहरुबाट पाउने गरेको बताए।

अरब मुलुकहरुको गठबन्धन निर्माणबारे सोच नयाँ नभएपनि इस्लामिक स्टेटको उदय बढ्दो इरानी प्रभावले त्यसको आवश्यकता झन बढाएको बताइन्छ।