सिरियाबाट दर्जनौँ इसाईहरु अपहरित

  • 24 फेब्रुअरी 2015

इस्लामिक स्टेटका लडाकुहरुले उत्तर पूर्वी सिरियाका गाउंहरुबाट कम्तीमा ९० जना असिरियन इशाईहरुलाई अपहरण गरेका अधिकारकर्मीहरुले बताएका छन्।

सिरियाको ताल ताम्र नगर नजीकै बिहान सबेरै गरिएको हमलाका क्रममा दर्जनौँ पुरुष, महिला तथा बालबालिकाहरुलाई कब्जामा लिइएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।

अमेरिकी हवाइ हमलाहरुको आडमा सिरियाली कुर्द लडाकुहरु आइएस नियन्त्रित क्षेत्रमा अघि बढिरहेका बेला यो घटना भएको हो।

अधिकारकर्मीहरुका अनुसार आइएस लडाकुहरु खाबुर नदी किनारामा रहेका विभिन्न गाउंहरुमा सोमबार बिहानै प्रवेश गरेका थिए।

बन्धक

ब्रिटेनमा रहेको सिरियाली मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएअनुसार ती गाउंहरुबाट कम्तीमा ९० जनालाई बन्धक बनाइएको छ।

ती मध्ये धेरै जसो ताल शम्रान गाउंका भएको जनाइएको छ।

उक्त मानवअधिकारवादी संस्थाका अनुसार सो गाउंमा आइएस र स्थानीय कुर्द मिलिसियाबीच विगतमा भीषण संघर्षहरु भएका थिए।

केही असिरियालीहरुले हमलाबाट उम्केर पूर्वमा कुर्दहरुको नियन्त्रणमा रहेको हासाकेह शहरमा आएर उक्त घटनाका बारे बताएका हुन्।

हासाकेह प्रान्त आइएस विरुद्धको लडाईंमा रणनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

उक्त प्रान्तको सिमाना टर्की र इराकमा सो समूहको नियन्त्रणमा रहेको क्षेत्रसंग जोडिएको छ।

सिरियामा चार बर्ष अघि राष्ट्रपति बशर अल असदको शासन विरुद्धको विद्रोह आरम्भ हुनु अघि त्यहांको दुईकरोड बीस लाख जनसंख्या मध्ये १० प्रतिशत इसाईहरु रहेका विश्वास गरिन्छ।

सिरियामा चालिस हजारको संख्यामा रहेको ठानिने अशिरियालीहरु नेष्टोरियन इसाई हुन जस्ले ईशा मसिहले बोल्ने आरामाइक भाषाको एउटा प्रकार सिरियाक बोल्न गर्छन्।

असिरियालीहरु मध्ये सबैभन्दा धेरै जसो हासाकेह प्रान्तमा बसोबास गर्छन्, तर तिनीहरुको केहि सानो संख्या अलेप्पो, होम्स र दमस्कसमा पनि बसोबास गर्ने गर्छ।

असिरियालीहरुलाई बन्धक बनाएर आइएसले के गर्न खोजेको हो भन्ने चाहिं स्पष्ट भैसकेको छैन।