युक्रेनसँग युद्धको संभावना छैन् : पुटिन

  • 24 फेब्रुअरी 2015
तस्वीर कपीराइट Kremlin.ru
Image caption पुटिनले पूर्वी युक्रेनको स्थायीत्वका लागि मिन्स्क सम्झौता उपयुक्त माध्यम भएको बताएका छन्

पूर्वी युक्रेनमा तनावका लागि रुसपनि जिम्मेवार रहेको आरोप लागिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग युद्धको ‘संभावना’ नरहेको बताएका छन्।

रुसी टेलिभिजनलाई दिएको एउटा अन्तरवार्तामा उनले युद्धको संभावना अस्वीकार गरेका हुन्।

पुटिनले पूर्वी युक्रेनमा स्थायीत्वका लागि मिन्स्कमा भएको युद्धविराम सम्झौताको कार्यान्वयन उपयुक्त विकल्प भएको जनाए।

युक्रेनी सरकारले रुसी सेना युक्रेनमा लडाइ गरिरहेको आरोप लगाउँदै आएको छ।

युद्धस्थल

पुटिनेले भने उक्त आरोपको बारम्बार खण्डन गर्दै आएका छन्।

यसअघि युक्रेनी सेनाले विद्रोहीहरुको घेराबन्दीका कारण युद्धस्थलबाट भारी हातहतियार फिर्ता लैजान आफूहरु असमर्थ भएको बताएका थिए।

फेब्रुअरी १२ तारिखमा भएको मिन्स्क सम्झौतापछि पुटिनले पहिलो पटक त्यसबारे आफ्नो अन्तरवार्तामा विस्तृत रुपमा टिप्पणी गरेका छन्।

पूर्वी युक्रेनको जारी स्थितिलाई अघि सार्दै युक्रेनमा युद्धको जोखिम रहे वा नरहेकोबारे पुटिनलाई अन्तरवार्तामा प्रश्न सोधिएको थियो।

तस्वीर कपीराइट EPA
Image caption युद्धविराम सम्झौताले डेबाल्टसेभ शहरलाई नसमेटेको विद्रोहीहरुले बताउँदै आएका छन्

जवाफमा उनले भने, “मेरो विचारमा त्यस्तो महाप्रलयको अवस्था आउने देखिदैन र म आशा गर्दछु कि त्यस्तो कहिल्यै हुने छैन्।”

कार्यान्वयन

पुटिनले मिन्स्कमा भएको सम्झौता कार्यान्वयन भए ‘क्रमिक रुपमा’ पूर्वी युक्रेनमा स्थायीत्व हुँदै जाने बताए।

उनले रुसको झै युरोपलाई पनि त्यहाँको अवस्थाबारे चासो रहेको जनाए।

युरोपमा कसैले पनि खासगरी सशस्त्र द्वन्द्व नचाहेको पुटिनको भनाई थियो।

उनले मिन्स्क सम्झौतालाई अनुमोदन गर्न रुसद्वारा तयार पारिएको संकल्प प्रस्ताव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेपछि त्यो एउटा अन्तर्राष्ट्रिय कानुनी दस्तावेज बनेको बताए।

गत साता विद्रोहीहरुले रणनीतिक महत्वको भनिएको डेबाल्टसेभ शहरको ओसारसपार केन्द्रमाथि कब्जा जमाएपछि युद्धविराम सम्झौता भंग हुने जोखिममा परेको देखिएको थियो।